अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – कोरोना सङ्क्रमितलाई हृदयघात भएमा उपचारका लागि कहाँ जाने ?
लकडाउनकाे अवस्थामा कोरोना विशेष अस्पताल, क्वरेण्टीन वा घरमै रहँदा मुटुरोगसम्बन्धी अस्पतालमा लान र उपचार पाउन सहज नहुन सक्छ तर चिन्ता अब गर्नु पर्दैन । बाँसबारीको सरकारी स्वामित्वको शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले यसको तयारी गरिसकेको छ ।
सङ्क्रमितलाई हृदयघात वा मुटुसम्बन्धी कुनै समस्या भएमा उपचार र सेवाका लागि केन्द्रले नियमित शल्यक्रिया र उपचारलाई असर नपर्ने गरी बेग्लै आइसोलेशन वार्डसमेत तयार गरेको छ ।
संयाेग भनाैँ, अहिलेसम्मका दुई हजार पाँच सय सङ्क्रमितमध्ये कसैलाई पनि मुटुरोगसम्बन्धी समस्या देखा परेको छैन । कुल दुई सय ५० शय्या रहेको यस विशिष्टीकृत अस्पतालले कोरोना रोकथामकाे लागि लकडाउनपछि मुल भवनको द्वार बन्द गराइ आकस्मिक कक्षतर्फको भवनको द्वारबाट मात्रै आवागमन गराएको छ ।
सेवाग्राहीले आकस्मिक कक्ष वा परीक्षणमा जानुअघि भाइरसको सम्भावित सङ्क्रमणको लक्षण भए/नभएको पहिचान अनिवार्य गराउनु पर्नेछ । द्वारबाट भित्र गएपछि ‘होल्डिङ कक्ष’ मा उनीहरुको तापक्रम जाँच तथा खोकी वा घाँटीका समस्या भएका वा सङ्क्रमित धेरै भएका जिल्लाबाट आएका बिरामी भएमा अलग्गै आइसाेलेशन वार्डमा राखेर उपचार गरिँदै आएको छ ।
यहाँ भर्ना गरिएका बिरामीलाई सङ्क्रमण देखिएमा मुटुको उपचारपछि कोरोना विशेष अस्पतालमा पठाइनेछ । लकडाउनकाे अवस्थामा कोरोना सङ्क्रमितले समेत मुटुसम्बन्धी समस्याबारे आवश्यक परामर्श र सहयोगका लागि केन्द्रको मोबाइल नम्बर ९८५१२३०६८२ मा सम्पर्क गरी विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीका अनुसार लकडाउन अगाडि दैनिक ५५ जना गरी महिनामा एक हजार ६ सय जनासम्मले आकस्मिक कक्षमा सेवा लिएकाेमा त्यसयता बिरामीको सङ्ख्या घटेको छ । केन्द्रमा गएको चैतमा एक हजार १९, वैशाखमा एक हजार दुई सय ४५ र यही जेठ २२ गतेसम्म पाँच सय १० जनाले आकस्मिक वार्डको सेवा लिएका छन् ।
बहिरङ्गतर्फ सामान्यतः दैनिक सात सयसम्म बिरामी आउने गरेकाेमा लकडाउनकाे केही समय त्याे सेवा बन्द रहेको र गएकाे वैशाख १६ यता दैनिक २४ देखि एक सय ६६ जनासम्मले सेवा लिएका छन् । लकडाउनकै अवधिमा कुल ५० जनाको मुटुको शल्यक्रिया गरिएको छ भने ३१ जनाको ओपन हार्ट सर्जरी, दुई सय ३४ जनाको क्याथ ल्याबबाट कोरोनरी एन्जियोग्राफी, ७१ जनाको एन्जियोप्लास्टी, ६६ जनाको प्राइमरी एन्जियोप्लास्टी र ४७ जनालाई पेसमेकरमा राखिएको छ ।
केन्द्रका कार्डियोलोजी विभाग प्रमुख डाक्टर सुजीव राजभण्डारीका अनुसार त्यस अवधिमा यहाँ उपचारमा आएकामध्ये दुई सय ४० जनाको आरडीटी जाँच गर्दा पाँच जनाको पोजेटिभ देखिएकाेमा कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो भने मुटुको गतिमा समस्या भएर आएका एक जनालाई त्रिवि शिक्षण अस्पताल सिफारिस गरिएपछि कोरोना पोजेटिभ देखिएको थियो ।
यहाँ मुटुरोगीमध्ये ४२ जनामा पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएकाेले सहजरुपमा सेवा प्रवाह भइरहेको छ । यहाँका कुनै बिरामीलाई कोरोना देखिएमा सबै सेवा बन्द हुने गरेर सिल नगरि त्यस्ता बिरामीलाई बेग्लै आइसोलेशनमा राखेर अन्य बिरामीलाई अर्को भवनमा नियमित उपचार गर्न सकिने गरी प्रबन्ध गरिएको छ ।
गएको पुस ९ गते कार्यकारी निर्देशकमा नियुक्त मुटुरोग विशेषज्ञ डा. अधिकारीले आगामी असार १ गतेदेखि बिरामी बढ्न सक्ने भएकाेले समूहगत र अस्पतालको खुला ठाउँमा परीक्षणकाे लागि व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
यहाँ कार्यरत चिकित्सक र कर्मचारीलाई आवश्यक व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराइएको छ । अहिले यहाँ आकस्मिकका कुल ३४ शय्या छन् । नेपाल सरकारले तोके अनुसार केन्द्रमा १५ वर्षमुनि र ७५ वर्षमाथिका मुटुरोगी तथा विपन्न बिरामीलाई निःशुल्क उपचार गरिन्छ ।
उमेर खुल्ने कागज र पालिकाकाे सिफारिसकाे आधारमा केन्द्रले थप छुट पनि दिन सक्नेछ । यहाँ मुटुको शल्यक्रिया, क्याथ प्रोसिडिएर, पिसमेकर, सीएजी, इपिएस–आरएफए, डायग्नोस्टिक प्रोसिडिएर, बिरामी भर्नापछिको इन्जेक्सन आदि सेवा दिइँदै आएको छ । केन्द्रमा मुटुरोगी शिशुका लागि पनि अलग्गै कक्ष स्थापित छ । यहाँ अहिले सय चिकित्सक र तीन सय नर्सिङ स्टाफ कार्यरत छन् ।
सरकारले आउँदो आर्थिक वर्षको बजेटमा यस केन्द्रलगायत विभिन्न विशिष्टीकृत अस्पतालले पालिका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको सेवासहित स्याटेलाइट तथा अनुसेवा क्लिनिक सञ्चालन गर्न र विशेषज्ञ स्वास्थ्य सुविधा नपुगेका दुर्गम ठाउँका बिरामीका लागि भरपर्दो टेलिमेडिसिन सेवा प्रणाली सञ्चालनमा ल्याउन रकम विनियोजन गरेको छ ।
आउँदो आवकाे लागि संसदबाट पारित सरकारको नीति तथा कार्यक्रममा केन्द्रमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने उल्लेख छ ।
चालु आर्थिक वर्षमा पूर्वाधारतर्फ नेपाल सरकारबाट ४६ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने नियमित खर्च केन्द्र आफ्नै आम्दानीबाट हुने गरेको छ । सामान्य अवस्थामा केन्द्रको मासिक आम्दानी १३/१४ करोड रुपैयाँसम्म हुने गरेको छ ।
‘शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७’ अनुसार स्थापित यस केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदेन अध्यक्ष र प्रशासकीय प्रमुखका रूपमा दैनिक प्रशासन सञ्चालन गर्नकाे लागि हृदयरोग विशेषज्ञमध्येबाट नेपाल सरकारले एक कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ ।
कुल ५२ रोपनी जग्गामा तीन भवनमा रहेको केन्द्रका संस्थापक अध्यक्ष डा. अरुण सायमी हुनुहुन्छ । हृदयरोगको निदान, उपचार तथा हृदयरोगीको पुनर्स्थापनाकाे लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रूपमा प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोगसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न एक उच्चस्तरीय केन्द्रका रूपमा यस संस्थाको स्थापना गरिएको हो ।
यसले देशको स्वास्थ्य सेवा क्षेत्रमा सुधार ल्याउन, हृदयरोगसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न नेपाल सरकारलाई परामर्श दिने काम पनि गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।