न्युयोर्कमा ७५ वर्षीय वृद्धमाथि प्रहरीको दुर्व्यवहार, सर्वत्र आलोचना

 जेठ २३, २०७७ शुक्रबार २०:४०:२४ | रासस
unn.prixa.net

काठमाण्डाै – संयुक्त राज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्युयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुर्व्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको छ ।

डब्ल्यूएफबीओले सार्वजनिक गरेको फुटेजमा न्युयोर्कको बुफेलो प्रहरीका अधिकृतले ७५ वर्षीय एक वृद्ध व्यक्तिलाई नियागारा स्क्वाएरमा छातीमा धकेलेर भुइँमा लडाएको देखिएको छ । ती वृद्ध व्यक्ति सडकमा उत्तानो पर्छन्, टाउको भुइँमा बजारिन्छ र कान तथा टाउकाको पछाडिबाट रगत बगेको देखिएको छ । तर नियागारा स्क्वाएरमा भेला भएका प्रदर्शनकारीलाई पन्छाउने क्रममा सहभागी प्रहरीको समूह उनलाई बेवास्ता गर्दै अगाडि बढेको देखिन्छ ।

यो भिडियो सार्वजनिक भएसँगै प्रहरीको व्यवहारलाई लिएर चौतर्फी आलोचना हुन थालेको छ । बुफेलो प्रहरीले भने एक व्यक्ति ठेस लागेर भुइँमा लडेको भनाइ सार्वजनिक गरेको छ । प्रहरीले त्याे घटनाको छानबिन थालिसकेको जनाएको छ । प्रहरी आयुक्तले त्याे घटनामा संलग्न दुई प्रहरीलाई निलम्बन गरिएको बताएका छन् ।

पश्चिम न्युयोर्कका मेयरले वृद्ध व्यक्तिमाथि भएको व्यवहारबाट आफू अत्यन्त दुःखित भएको प्रतिक्रिया दिएका छन् । न्युयोर्कको एक अस्पतालमा उपचार गराइरहेका ती वृद्ध व्यक्तिको स्वास्थ्य अवस्था 'स्थिर' रहेको बताइएको छ । न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले वृद्ध व्यक्तिमाथि दुर्व्यवहार गर्ने प्रहरी अधिकारीको निलम्बनलाई स्वीकृत गरेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया