असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहण, कुन प्रदेशबाट कतिखेर देखिन्छ ?

 असार २, २०७७ मंगलबार १७:३४:१३ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  

ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देखिने उहाँले बताउनुभयो । 

शास्त्रीय मान्यता अनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणको समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । ग्रहणको बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी र त्याे सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणको बेला गर्नु हुने र नहुने अन्य कामलाई ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सूतक लाग्ने धर्मशास्त्रविद्समेत रहनुभएका गौतमले बताउनुभयो । सूतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वास अनुसार असार ६ गते राति १०ः५० बजेदेखि भोजन गर्नु हुँदैन । 

असार ७ गतेको सूर्यग्रहण मृगशिरा र आद्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । 

सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्री पीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।  मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्नुहुन्छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने मान्यता छ । यस वर्ष नेपालबाट देखिने असार ७ गतेको सूर्यग्रहण मात्र रहेको समितिले जनाएको छ । 

कुन प्रदेशबाट कतिखेर देखिन्छ सूर्यग्रहण ?

खगोल विज्ञानका क्षेत्रमा काम गरिरहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सङ्घीय राजधानीसहित सातै प्रदेशका राजधानीबाट सूर्यग्रहण देखिने समयसमेत सार्वजनिक गरेको छ । काठमाण्डौबाट बिहान १०ः५३ः५८ मा सुरु, १२ः४१ः०२ मा मध्य र १४ः२४ः३५ मा अन्त्य हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

प्रदेश नम्बर १ को विराटनगरबाट बिहान १०ः५८ः४५ मा सुरु, मध्याह्न १२ः४७ः०४ मा मध्य र अपराह्न १४ः२९ः२९ मा अन्त्य हुने छ । यसैगरी प्रदेश नम्बर २ को जनकपुरबाट बिहान १०ः५५ः०१ मा सुरु, मध्याह्न १२ः४२ः५० मा मध्य र अपराह्न १४ः३६ः२० मा अन्त्य हुनेछ । 

त्यस्तै वाग्मती प्रदेशको हेटौँडाबाट बिहान १०ः५२ः५२ मा सुरु, मध्याह्न १२ः३९ः५८ मा मध्य र अपराह्न १४ः२३ः५५ मा अन्त्य हुने सोसाइटीले जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट बिहान १०ः५०ः४५ मा सुरु, मध्याह्न १२ः४१ः५९ मा मध्य र अपराह्न १४ः२१ः१४ मा अन्त्य हुने छ । प्रदेश नम्बर ५ को बुटवलबाट बिहान १०ः४८ः५० मा सुरु, मध्याह्न १२ः३५ः०६ मध्य र अपराह्न १४ः२०ः०२ मा अन्त्य हुने जनाइएको छ । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बिहान १०ः४५ः२४ मा सुरु, मध्याह्न १२ः३०ः१८ मध्य र अपराह्न १४ः१५ः४२ मा अन्त्य हुने छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट बिहान १०ः४२ः४६ मा सुरु, मध्याह्न १२ः२६ः५२ मा मध्य र अपराह्न १४ः१२ः४२ मा अन्त्य हुने अध्यक्ष भट्टराईले बताउनुभयो । 

वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरिकाले सबैले ग्रहण हेर्न सकिने पनि सोसाइटीले जनाएको छ । प्रदेश नम्बर १ बाट सन् १९६५ नोभेम्बर २३ तारिखको दिन बिहान खग्रास (पूरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको थियो । अब खग्रास सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा प्रदेश नम्बर १ कै दक्षिणपूर्वी भूभागबाट देखिने उहाँले सुनाउनुभयो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया