अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
जाजरकोट - जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उहाँको घर दैलोमा पुग्नुभयो । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो सोध्दै परिवारका सबैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चासो, चिन्ता लिँदा दङ्ग भएको शाहीले बताउनुभयो ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष आएर सबै परिवारलाई सँगै राखेर नियमित अस्पताल जाने, बच्चाको स्याहारसुसारका विषयमा कुरा गर्नुभएको उहाँले बताउनुभयो । सुत्केरी भएको समयमा पर्ने समस्याका बारेमा श्रीमान् तथा अन्य घर परिवारका सदस्यलाई जानकारी दिनुभएको समेत शाहीले बताउनुभयो ।
“सबैलाई सम्झाइबुझाइ गरेर कुखुरा किनेर खानु भनी एक हजार ५ सय रुपैयाँ, स्थानीय तोरीको तेलका लागि ५ सय रुपैयाँ र बच्चाको कपडा किन्नका लागि ५ सय रुपैयाँ दिनुभयो”, शाहीले भन्नुभयो । आफ्नोजस्तो निम्न अवस्था भएका परिवारका लागि यो सहयोग असाध्य राम्रो भएको भन्दै शाहीले थप्नुभयो, “मैले छोरीको जन्म दिएकै कारण थप १० हजार रुपैयाँसमेत पाएकी छु ।”
उहाँजस्तै गाउँपालिकाभित्र सुरक्षितरुपमा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर कम भएपछि गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कार्यक्रम राखेर सुत्केरी खोज्दै कावा अध्यक्ष आचार्य घरघरमा पुगिरहनुभएको छ । उहाँ सुत्केरीको घरमा पुगेर विभिन्न शीर्षकमा रहको दुई हजार ५ सय रुपैयाँ दिँदै अब अर्को पटक सुत्केरी भएमा स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी हुनसमेत आग्रह गरिरहनुभएको छ ।
भौगोलिकरूपमा विकट र सबै ठाउँमा यातायातको पहुँच नभएको जुनीचाँदेमा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमले नागरिकसँग भेटघाट मात्र नभई जनचेतना फैलाउने कामसमेत भएको छ । यो शीर्षकमा मात्र १४ लाख ७० हजार रुपैयाँ रकम विनियोजन गरी सोहीअनुसारको काम भइरहेको छ ।
सुत्केरी हुने बित्तिकै आचार्यको मोबाइलमा फोन आउने गरेको छ । गाउँपालिकाभरि जम्मा ४ सय सुत्केरी महिला भएको आँकलन गरी अहिले सबै वडामा भेटघाटका कार्यक्रम तीव्र बनाइएको छ । वडा नं १ मा ७०, २ मा ४७ र ३ मा ३६ सुत्केरीसँग बढी छलफल भएको कावा अध्यक्ष आचार्यले बताउनुभयो ।
गाउँपालिकाभरि चार ठाउँमा मात्र बर्थिङ सेन्टर रहेका छन् । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्य चौकीको सङ्ख्या चार, उपस्वास्थ्य चौकी एक र सामुदायिक स्वास्थ्य केन्द्र ११ वटा रहेका छन् । महिला स्वयंसेविकालाई प्रोत्सहानस्वरुप गाउँपालिकाले छुट्टै बजेटको व्यवस्था गरी गर्भवती तथा सुत्केरीको घरमा गएर भेटघाट तथा स्वास्थ्य परामर्श दिने व्यवस्थासमेत गरिएको छ ।
स्वास्थ्यमा समस्या देखिएका गर्भवती तथा सुत्केरीका लागि महिला स्वयंसेविकाले नै घरपरिवारको सहयोगमा स्वास्थ्य संस्था लिने गरेको गाउँपालिका–११ की महिला स्वयंसेविका गौरीकला बस्नेतले जानकारी दिनुभयो । प्रत्येक महिनामा एक पटक गाउँमा स्वयंसेविकाको उपस्थितिमा स्वास्थ्य सेचतनामूलक कार्यक्रम हुँदै आएको बस्नेतले जानकारी दिनुभयो ।
गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरी छोरी जन्मिएको घरलाई १० हजार रुपैयाँका दरले उपलब्ध गराउँदै आएको छ । ‘छोरी बचाऊ, छोरी पढाऊ र छोरी बढाऊ’ भन्ने कार्यक्रम गरी छोरी जन्मिएको घरमा १० हजार रुपैयाँ रकम दिँदै आएको कावा अध्यक्ष आचार्यले बताउनुभयो । छोरीप्रति हेर्ने दृष्टिकोण बदल्नका लागि यो कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । यो कार्यक्रम लागू भएसँगै छोरी जन्मिने बित्तिकै हेला गर्ने प्रवृत्ति ह्वात्तै घटेकोसमेत उहाँले बताउनुभयो । राज्यले नै छोरीप्रति सम्मान गर्दा हामीले किन हेपाहा प्रवृत्ति देखाउने भन्दै स्थानीयवासी आफूहरुले गलत दृष्टिकोण राखेको गाउँपालिका–५ का पदम खड्काले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।