इमेज सहकारीका सञ्चालकसँग मेलमिलाप भएपछि पीडितले २३ करोड ७५...
पुस २७, २०८१ शनिबार
सिन्धुपाल्चाेक - ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक गाडी बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपीङ् बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपीङ् भिरमा पहिरो गएपछि धेरै कन्टेनरहरु नाकामै रोकिएका छन् ।
चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ । तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन् । यसअघि पनि त्यही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
भोटेकोशी आयोजना र मध्यभोटेकोशी आयोजनासँग समन्वय गरेर बाटो बनाउने काम भइरहेको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन निरौलाले बताउनुभयो । कोरोना भाइरसको महामारीका कारण गएकाे माघ १६ गतेदेखि बन्द भएको तातोपानी नाका गएको चैत २६ गते देखि पुनः सञ्चालनमा आएको थियो ।
तत्कालीन अवस्थामा स्वास्थ्य सामग्री र कृषि क्षेत्रका सामानहरु मात्र आयात गर्नका लागि खोलिएको तातोपानी नाकाबाट अहिले सबै प्रकारका सामग्रीहरु आयात हुने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । यता कपडा, जुत्ता, चप्पल, खाद्यान्न, विद्युतीय उपकरणलगायतका सामग्री लिन चीनतर्फ जान लागेका करिब ५० भन्दा बढी कन्टेनर र ट्रकहरु पनि बाटोमै अलपत्र छन् ।
तातोपानी क्षेत्र विपद्को उच्च जोखिममा पर्दछ । चीनसँगको व्यापारिक नाका तातोपानीमा बाढी, पहिरो, सुक्खा पहिरो र ढुङ्गा खस्नेजस्ता समस्याका कारण स्थानीयवासीलाई त्रसित बनाउने गरेको छ ।
बाह्रबिसेको खोर्सानीबारीदेखि तातोपानीको लिपिङसम्मका बस्तीे दुई पहाडबीचबाट बग्ने भोटेकोशी नदीको किनारमा पर्दछ । भोटेकोशी र ठाडोखोलाको बाढी र पहिरोले कच्ची घरहरु पुरै भत्किएका छन् । बाढी, पहिरोको समस्या मात्रै होइन, भीरबाट खस्ने ठूलाठूला ढुङ्गाको जोखिम पनि उत्तिकै छ । यी सबै समस्याले गाती, झिर्पु, कोदारी र लिपिङ क्षेत्रमा कहिल्यै पनि त्रास नहटेको गाउँपालिकाका स्थानीय गणेश श्रेष्ठले बताउनुभयो ।
वर्षातमा हुने पहिरोको जोखिम त छँदैछ, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ । पानी पर्नेबित्तिकै भोटेकोशी नदीमा आउने बाढीको डर एकतिर छ भने वर्षाकै कारण मुख्य सडक पनि भास्सिएका छन् । ठूला दुई पहाडबीच बग्ने नदी छेउको बसाइ त्रासपूर्ण भएको स्थानीय निङ्मा शेर्पा बताउनुहुन्छ ।
गाउँपालिकाको तातोपानी क्षेत्रका प्राय सबै बस्तीहरु खोला र पहिरोको उच्च जोखिममा छन् । अति जोखिममा रहेका बस्तीहरूलाई तारजाली तथा स्थानान्तरणको व्यवस्था गर्ने योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो ।
विपद्को अवस्था हेरेर जिल्ला विपद् व्यवस्थापन समितिले पनि काम गरिरहेको छ । बाढी, पहिरो र पानीबाट पर्ने समस्याका साथै कोरोना भाइरसलाई समेत समेटेर समितिले पूर्व तयारीको काम गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँले अति जोखिममा रहेका लार्चा खोला आसपासका बस्तीहरुमा विज्ञको टोलीले अध्ययन गरिरहेको र अध्ययनको निष्कर्ष अनुसार अगाडि बढ्ने बताउनुभयो ।
विपद्का दृष्टिले उच्च जोखिमको सूचीमा रहेको भोटेकोशी क्षेत्रमा हुने समस्या सामाधान गरिनुपर्ने स्थानीयवासीको माग छ तर हालसम्म जोखिमपूर्ण बस्तीको व्यवस्थापन हुन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।