सुन्तलाकाे बियाँबाट कमाइ

 असार १०, २०७७ बुधबार १३:३३:११ | रासस
unn.prixa.net

पाल्पा – सुन्तलाको बियाँ बिउको लागि सुरक्षित साथ सङ्कलन गर्न सके राम्रो कमाइ गर्न सकिन्छ । रैनादेवी छहरा गाउँपालिकाका सुन्तला किसान लकडाउनको अवधिमा सुन्तलाको बिउबाट उत्पादित बिरुवाको कारोबारबाट राम्रो आम्दानी गरी नमुना बनेका छन् ।

रैनादेवी छहरा गाउँपालिका ४ सल्लेधाराका ददीराम पोखरेलले झण्डै चार हजार सुन्तला र कागतीको बिरुवाबाट झण्डै दुई लाख आम्दानी भएको बताउनुभयो । सुन्तला, कागती, जुनारलगायत बिरुवाको बगनासकाली र रैनादेवी गाउँपालिकाबाट ठूलो मात्रामा माग भएको छ ।

एउटा सुन्तला र कागतीबाट अरु आठ दश वटा बिरुवा हुर्काउन सकिने हुँदा पैसा कमाउनको लागि दुःख नै नभएको उहाँले बताउनुभयो । प्रति सुन्तला र कागतीको बिरुवा २५ र कलमी बिरुवा ४५ रुपैयाँमा घरबाट नै कारोबार हुँदै आएको उहाँ बताउनुहुन्छ ।

रैनादेवी छहरा गाउँपालिकाको अम्लाबासका मनबहादुर बगालेले पनि लकडाउनको अवधिमा आठ नौ हजार सुन्तलाको बिरुवा कारोबार भएको बताउनुभयो । गएको वर्ष असार साउनमा मात्र बिरुवाको बिक्री हुने गरेकोमा यस वर्ष जेठमै बिरुवा सकिएको बगालेले बताउनुभयो ।

गाउँ फर्किएका युवा अहिले आफ्नै घरबारीमा सुन्तला, कागती, जुनारजस्ता बोटबिरुवा लगाउन व्यस्त छन् । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले व्यावसायिक रुपमा सुन्तला किसानलाई अनुदानमा बिरुवा वितरण गर्ने योजना रहेको बताउनुभयो । गाउँपालिकाले बाँझो जमिनमा अन्न तथा फलफूल किसानलाई तीन हजारदेखि पाँच हजार रुपैयाँसम्मको अनुदानको व्यवस्था गरेकोले युवाहरु सुन्तला तथा कागती खेतीप्रति आकर्षित देखिएको उहाँ बताउनुहुन्छ । 

जिल्लामा वार्षिक पाँच हजार ६ सय ६० टन सुन्तला उत्पादन हुँदै आएको छ । गएको आर्थिक वर्षमा मात्र जिल्लाले झण्डै ११ करोड रुपैयाँ आम्दानी गर्न सफल भयो । पाल्पामा आठ सय ५३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले बताउनुभयो । पाल्पामा उत्पादित सुन्तलाका बिरुवा म्याग्दी, पर्वत, बाग्लुङलगायत जिल्लामा ठूलो मात्रामा निर्यात हुँदै आएको छ । गएको आव २०७५/०७६ मा सुन्तला तथा फलफुल विकास केन्द्र पाल्पाले बाहिरी जिल्लामा निर्यात गरी आठ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया