‘नेपालले वार्ताकाे लागि पहल गरे पनि भारतले तत्परता देखाएन’

 असार १२, २०७७ शुक्रबार १८:३९:३ | रासस
unn.prixa.net

काठमाण्डौ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा छिमेकी भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता गर्न सरकारले पहल गरे पनि भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी दिइएको छ ।

यही असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटीको बैठकको आज दोस्रो दिन परराष्ट्रमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले कुटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गर्दै चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झुटो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाका सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट गर्नुभयो । 

बैठकमा आज १८ स्थायी कमिटीका सदस्यले आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरुले नेपालको सीमा समस्या र समाधानको बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । आजको बैठकमा लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शङ्कर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, वेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले विचार राख्नुभएको नेकपाका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकको सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र विविध कार्यसूची छ । कार्यसूचीको विविधमा रुकुम पश्चिममा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदहरूको भत्ताको विषय राखिएको छ ।

बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताको कारण आजको बैठकमा आफू उपस्थित नहुने र बैठक सञ्चालन गर्न भन्नुभएको जानकारी गराउनुभएको थियो । आजको बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतमा भएको थियो । स्थायी कमिटीको अर्को बैठक शनिबार बिहान ११ः०० बजे बस्नेछ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया