फैलँदै सलह, सुदूरपश्चिममा एक किलो सलह समाते २५ रुपैयाँ दिइने

 असार १४, २०७७ आइतबार १९:३३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सलह किरा नेपालका विभिन्न जिल्लामा फैलिन थालेको छ । शनिबार तराईका बारा, पर्सा, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा देखिएको सलह आज काठमाण्डौ उपत्यकाको ललितपुरसहित अरु जिल्लामा पनि देखिएको हो । आज दाङ, चितवन, कास्की, खोटाङ, लमजुङ, गुल्मीसहित विभिन्न जिल्लामा सलह भेटिएको हो । 

चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह भेटिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सिनाका अनुसार सलह किराका सानो झुण्डलाई स्थानीयवासीले गुलेली हानेर वनतर्फ धपाएका छन् । खैरहनी नगरपालिकाको पर्सा क्षेत्रमा आकाशमा सानो झुण्ड उडेको जानकारी कृषि प्राविधिकले गराएको पनि उहाँले बताउनुभयो । 

सलहले बाली नष्ट गर्न सक्ने भएकाले मकै बाली तत्काल थन्क्याउन, चैते धान काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन र तरकारीका बेर्ना जोगाउन किसानलाई आग्रह गरिएको र आवश्यक सहयोग गर्न निर्देशन पनि दिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । 

कास्कीको पोखरा महानगरपालिका १७ महतगौँडा क्षेत्रमा सलह किरा भेटिएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । किसानलाई सलह चिनाएर क्षति न्यूनीकरणको लागि सजग बनाउन महानगर लागिपरेको उहाँले बताउनुभयो । यो बेलामा किसानलाई बाली संरक्षण गर्न पठाउने र हुल नै बाँधेर आएको खण्डमा नियन्त्रणको लागि बिषादी छर्कनेलगायतको योजना महानगरले बनाएको उहाँको भनाइ छ । 

यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न ठाउँमा सलह किरा देखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । दिक्तेलमा रहेको सरस्वती माविको भित्तामा पनि सलह भेटिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखाका कृषि प्रसार अधिकृत धर्मेन्द्र कलौनीले बताउनुभयो । 

यस्तै ललितपुरको दक्षिणी क्षेत्रमा पनि सलह देखा परेको स्थानीयवासीले बताएका छन् । सलह मकवानपुर हुँदै ललितपुर प्रवेश गरेको हुन सक्ने विज्ञले बताएका छन् । 

मकवानपुरको मकवानपुरगढी गाउँपालिका ७ बतासे र भण्डारेमा सलह किराले बाली नष्ट गर्न थालेको छ । हिजो मात्रै नेपाल पसेको सलहले बालीनाली नष्ट गर्न थालेको गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले बताउनुभयो । कतिपय भित्र्याउने बेला भएको बालीसमेत सलहले नष्ट गर्न थालेको उहाँले बताउनुभयो । 

लमजुङको सुन्दरबजार नगरपालिका ९ को फेदीकुनामा मकै बारीमा बिहान सलह देखिएको हो । तर थोरैको सङ्ख्यामा भएकाले क्षति नपुगेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताउनुभयो । त्यस्तै गुल्मीको चन्द्रकोट गाउँपालिकाको आकाशमा झुण्डसहितको किरा देखिएको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले बताउनुभएको छ । 

यता  दाङको तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । किराको फोटो कृषि अनुसन्धान परिषद् नार्कमा पठाइएको र परिषद्ले सलह किरा भएको पुष्टि गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिनुभयो । थोरै सङ्ख्यामा रहेकाले बालीमा कुनै असर नगरेको उहाँको भनाइ छ । 

विज्ञहरुले नेपाल आइपुगेको सलह किरा एक महिनासम्म रहन सक्ने अनुमान गरेका छन् । वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुले गरेका हुन् । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डाक्टर डिल्लीराम शर्माले बताउनुभयो । 

यसैबीच सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ । धान दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले नगद प्रोत्साहन दिने निर्णय भएको जानकारी दिएको हो । 

सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा सङ्कलन गरेर वडा कार्यालयमा बुझाउनेलाई एक किलोको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताउनुभयो ।  

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया