राखेप सदस्य सचिवमा तीन जनाको नाम सिफारिस, ‘सिलवालको सम्भावना बलियो’

 साउन ७, २०७७ बुधबार १९:४५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवको लागि तीन जनाको नाम सिफारिस भएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला रहेको सिफारिस समितिले दरखास्त हालेका २७ जनामध्ये बाट तीन जनाको नाम मन्त्रालयसमक्ष सिफारिस गरेको हो । 

समितिले मङ्गलबार अञ्जु श्रेष्ठ, रमेश सिलवाल र लिलबहादुर थापाको नाम सिफारिस गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले उज्यालाेलाई जानकारी दिनुभयाे । समितिले सिफारिस गरेकामध्ये अञ्जु श्रेष्ठ भलिबलकी  पूर्वखेलाडी र भलिबलकी अभियन्ता हुन् । लिलबहादुर थापा पूर्वसांसद र अहिले नेकपाका केन्द्रीय सदस्य हुन् । 

रमेश सिलवाल भने राखेपकै पूर्वसदस्य सचिव हुन । कार्यकाल बाँकी रहे पनि नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि उनी स्वतः पदमुक्त भएका थिए । 

‘सिलवालको सम्भावना धेरै’

सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि अब मन्त्रिपरिषद्को बैठकले एक जनाको नाम छनोट गर्नेछ । यसमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले प्रधानमन्त्रीलाई दिने सल्लाहले ठूलो भूमिका खेल्नेछ । 

सिफारिस समितिका एक सदस्यका अनुसार तीन जनाको नाममा एक जना महिला हुनै पर्ने भएकाले अञ्जु श्रेष्ठको नाम सिफारिस भएको छ । ‘उहाँको त्यति धेरै दखल र सोर्स फोर्स नदेखिएकाले सम्भावना भने कम देखिएको छ’, एक सदस्यले उज्यालो अनलाइनसँग भने । 

केन्द्रीय सदस्य भएकाले लिलबहादुर थापाको सदस्य सचिव हुने सम्भावना छ तर आफ्नै पार्टीका केन्द्रीय सदस्यलाई नियुक्त गर्दा विवादित हुन सक्नेतर्फ पनि सरकार सचेत रहनेछ । त्यसमाथि लिलबहादुर थापाले खेलकुद क्षेत्रलाई धेरै चिन्नुभएकाे पनि छैन । 

सिफारिसमा परेका रमेश सिलवालको सम्भावना धेरै रहेको ती सदस्यले जानकारी दिएका छन् । ‘उहाँ दौडधुपमा पनि लाग्नुभएको छ भन्ने सुनेका छौँ, खेल क्षेत्र बुझेको पनि देखिन्छ, उहाँलाई नियुक्त गर्दा विवाद पनि कम हुने देखिन्छ, मन्त्रीको मनसाय पनि त्यस्तै बुझिन्छ’, सदस्यले उज्यालोसँग भने । 

यद्यपि यो विषय अब प्रधानमन्त्रीकै हातमा पुगेकोले उहाँको ‘मुड’ अनुसारको निर्णय हुने स्रोतले बताएको छ ।  

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया