दशैँ अगाडि त्रिविका सबै परीक्षा

 साउन ८, २०७७ बिहीबार १५:३६:२२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो ।

“हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ”, उहाँले भन्नुभयो, “तर त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा पुगेका छौँ ।”

यसअघि सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षा बारेमा निर्णय गर्न त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरेर परीक्षा नलिने तयारी गरेको बनाएपनि सेमेष्टरको परीक्षा लिने भएको हो । उहाँले दशैँ अगाडि रोकिएका सेमेष्टर र वार्षिक परीक्षा गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

त्रिविले चाँडै नै परीक्षाका बारेमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । यसपटक विद्यार्थीलाई पायकपर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिने छ । “पहिले हामीले १२–१३ किलोमिटरभित्रमा परीक्षा केन्द्र राख्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, “यसपटक भने विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राख्ने छौँ ।”

त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् । यसैगरी पनिकाले बन्दाबन्दीका कारणले रोकिएका परीक्षाफल धमाधम गरिरहेको छ ।

पनिकाले गत वैशाख २० गतेदेखि कार्यालयका कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको छ । उहाँका अनुसार स्नातकोत्तर तहका १२ विषय, कानून सङ्काय, मानविकी र व्यवस्थापनको स्नातक तहको प्रथम वर्षको परीक्षाफल प्रकाशन गर्न बाँकी रहेको छ ।

पनिकाले सबै परीक्षाफल प्रकाशित गरेर परीक्षा गर्ने र ती परीक्षाको पनि तीन महिनाभित्र प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो । उहाँले वार्षिक क्यालेन्डर मिलाउने गरी परीक्षा र परीक्षाफल प्रकाशन गरिने तयारी गरिएको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • mahesh bohara

    July 23, 2020, 4:56 p.m.

    एक बर्ष ढिलो होस बरू परिक्षा , त्रिभुवन विस्वविद्द्यालयको निर्णयले बिद्द्यार्थीलाई बढी प्रेसर पर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया