पूर्व डीआईजी रञ्जनको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ

 साउन ११, २०७७ आइतबार ८:६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।

सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइरालाको कैद छुट फैसलाको औचित्यमाथि आज सुनुवाइ हुने भएको हो । 

श्रीमतीको हत्यामा दोषी ठहर कोइरालाको सजाय घटाउने गरी सर्वोच्चको अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आज पेसी तोकिएको छ । 

महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानुनी सिद्धान्तको प्रतिकूल फैसला भएको भन्दै पुनरावलोकनको निवेदन दिएको थियो ।

अब के हुन्छ ?

फैसलामा गल्ती भएको लागेमा सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिनेछ । अनुमति नदिएमा यो मुद्दाको औचित्य सकिनेछ । विगतमा पनि पुनरावलोकनबाट कतिपय मुद्दाका फैसला उल्टिएका छन् । पुनरावलोकनका लागि छुट्टै इजलास गठन हुन्छ । कुनै मुद्दाको पुनरावलोकन माग गरिए पहिले फैसला वा अन्तिम आदेश गर्ने न्यायाधीश बाहेकको इजलासबाट हेर्ने व्यवस्था छ । 
यसअघि मुद्दा हेरिसकेका सात जनाबाहेकका न्यायाधीशले पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्नेछन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसहित न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, सुष्मलता माथेमा, मनोजकुमार शर्मा, आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लले यो निवेदनमाथि सुनुवाइ र निर्णय गर्न पाउने छैनन् ।

सर्वोच्च्का बाँकी नौ जनाले मात्र यो मुद्दाको सुनुवाइ गर्नेछन् । पुनरावलोकनमा सुनुवाइ मात्र हुन्छ । अनुमति दिइएमा मात्र कोइरालालाई म्याद तामेल गर्ने, तारेखमा बोलाउने र बहस गर्ने प्रक्रिया अगाडि बढ्छ ।संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन बनेको छ ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया