अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
महोत्तरी- मिथिलामा अहिले आफ्ना छोरीचेलीमा नेपालको वाम प्रजातान्त्रिक आन्दोलनकी शीर्ष नेतृ सहाना प्रधानको बिम्ब खोजिँदै छ । धनुषाको मिथिला नगरपालिकाले पछिल्ला तीन वर्षदेखि आफ्ना छोरीचेलीमा नेतृ सहानाको बिम्ब खोज्दै ‘मिथिलाको चाहना, घरघरमा सहाना’ कार्यक्रम नै सञ्चालन गर्दै आएको हो ।
झट्ट सुन्दा, पढ्दा ‘मिथिलाको चाहना, घरघरमा सहाना’ नाराजस्तो लागे पनि मिथिलामा यो नारा मात्र छैन । उच्च शिक्षा, वाम प्रजातान्त्रिक आन्दोलनप्रतिको निष्ठा र नेतृत्व, लैङ्गिक विभेदविरुद्ध निरन्तर सङ्घर्ष र गरिब तथा मिहिनेतका साथ जनताप्रतिको स्नेह सहानामा देखिने मुख्य पक्ष हुन् ।
यिनै पक्ष दर्बिलोरूपमा आफ्ना चेलीमा देखिन, खोजिन ‘मिथिलाको चाहना, घरघरमा सहाना’ कार्यक्रम नै सञ्चालन गर्दै आइएको मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो बताउनुहुन्छ । प्रदेश नं २ को करिब मध्यभागमा पर्ने नगरपालिकाको ढल्केवर पूर्वपश्चिम राजमार्ग र मिथिला संस्कृतिको केन्द्र जनकपुरधाम जाने सडकको सङ्गम छ । जनकपुरधामसँग जोड्ने मुख, पूर्वपश्चिम राजमार्गमा प्रदेश भित्रको मध्यभागमा पर्ने मिथिला नगरपालिकाको यो कार्यक्रमले छरछिमेकका जिल्ला र स्थानीय तहमा राम्रो चर्चा बटुलेको छ ।
छोरी शिक्षालाई उत्प्रेरित गराउने उद्देश्यले तीन वर्षअघि आर्थिक वर्ष २०७४/७५ देखि नै मिथिला नगरपालिकाले याे कार्यक्रम सञ्चालन गर्दै आएको हो । कार्यक्रमको प्रत्यक्ष नेतृत्व उपप्रमुख तारा बस्नेत लामाले गर्दै आउनुभएको छ । पढाइ स्नातक पूरा गरेका मिथिलाभित्रका छोरीलाई कदरपत्र दिएर सम्मान गर्दै नगद छ हजार रुपैयाँ दिइने यस कार्यक्रममा अहिलेसम्म ७२ जना सम्मानित भइसकेका छन् ।
पढेकी छोरीसँगै बाबुआमालाई पनि नगरपालिकाले सम्मान गर्न थालेपछि छोरी पढाउनु पर्छ भन्ने कुराले बल पाउँदै गएको नगरपालिकाका उपप्रमुख तारा बस्नेत लामाको भनाइ छ । ‘हामीले छोरी शिक्षा जागरण बढाउने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ’ उहाँले भन्नुभयो, ‘कार्यक्रमको प्रचारप्रसारले उमेर नपुग्दै गरिने विवाह (२० वर्ष पूरा नभई) लाई निरुत्साहित गर्नसँगै छोरी शिक्षाप्रति राम्रो जागरण बढेको छ ।’
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनको एक सशक्त हस्ती, महिलामुक्ति आन्दोलनका अग्रणी योद्धा स्व.सहाना प्रधानको नाममा स्थापित र सञ्चालित यो कार्यक्रमको उद्देश्य लैङ्गिक विभेदविरुद्ध सशक्त महिला आन्दोलनको विकाससमेत रहेको उहाँ बताउनुहुन्छ ।
पहिलोपटक आर्थिक वर्ष २०७४/७५ मा ५४, दोस्रो वर्ष आव २०७५/७६ मा पाँच र गएकाे आर्थिक वर्ष २०७६/७७ मा १३ गरी अहिलेसम्म ७२ जना स्नातक गरेका अविवाहित छोरी र यसै सङ्ख्याका बाबुआमा सम्मानित भइसकेको नगरपालिकाले जनाएको छ ।
यसअघि नारी शिक्षा अत्यन्त कमजोर रहेको नगरभित्र अब स्नातक गर्ने छोरी बाक्लै भेटिन थालेका छन् । ‘हामीले सम्मानित गरेका ७२ मध्ये त कडा परिश्रम गर्ने कोइरी, कलवार र हलुवाई जाति समुदायका मात्रै आधा सङ्ख्या छन्’, उपप्रमुख लामाले भन्नुभयो । कार्यक्रमको मुख्य उद्देश्य गरिब र दलित वर्गमा शिक्षाको प्रसार गर्नु भएको हुँदा अब त्यस्ता परिवारको पहिचान गरी छोरी शिक्षालाई प्रभावकारी बनाउन यसैभित्र थप कार्यक्रम बढाइने उहाँको भनाइ छ ।
नगरपालिकाले पढेकी छोरी र छोरी पढाउने बाबुआमा दुवैलाई सम्मानित गर्न थालेपछि अब आमरुपमा छोरीलाई उच्च शिक्षा पढाउनु पर्छ भन्ने सन्देश प्रवाहित भएको यस भेगका बुद्धिजीवी बताउँछन् । नारी शिक्षा नबढाएसम्म विकास र समृद्धिको नाराले खास अर्थमा सार्थकता नपाउने हुँदा सबै पालिकाले आफ्नो भूगोलभित्र छोरी शिक्षा प्रवर्द्धन हुने कार्यक्रम बनाउन आवश्यक रहेको बर्दिवास-४ का बासिन्दा माध्यमिक विद्यालयका अवकाशप्राप्त प्रधानाध्यापक खड्गबहादुर सिंह बताउनुहुन्छ ।
मिथिला नगरपालिकाका बाबुआमा पनि आफ्नो पालिकाले थालेको यो अभियानबाट उत्साहित छन् । छोरीले राम्रो शिक्षा पाए ज्वाइँ पनि योग्य पाइने, छोरी आत्मनिर्भर हुनसक्ने र भावी सन्तान पनि उच्चसंस्कारी हुने ध्येयले नै नगरपालिकाले यो कार्यक्रम बनाएको सम्मानित एक छोरीका अभिभावक मिथिला-५ का सुखसागर महतो बताउनुहुन्छ । उच्च शिक्षा लिएकी छोरीको नाताले आफूले पनि सम्मानित हुन पाउँदा यहाँका बाबुआमा दङ्ग छन् ।
नेपालको वाम आन्दोलनलाई थप प्रजातान्त्रिक गर्दै सशक्त विचार प्रतिपादन गरेका जननेता मदन भण्डारीका नाममा सञ्चालन गर्ने निर्णय गरिएको त्यस कार्यक्रममा अत्यन्त गरिब परिवारको पहिचान गरी उनीहरुको आर्थिक गतिविधि बढाउने उद्देश्य राखिएको उपप्रमुख लामा बताउनुहुन्छ । नगरपालिकाले नगरसभाबाटै पारित गरेका यी कार्यक्रमले छरछिमेकमा पनि राम्रै चर्चा ओगटेका छन् ।
कतै जाँदा वा कुनै नयाँ व्यक्ति भेट हुँदा मिथिलाले थालेका यी प्रयत्नबारे सकारात्मक चर्चा सुन्दा अझ बढी यस्तै रचनात्मक र सिर्जनात्मक कार्यक्रम बनाउन उत्प्रेरित भएको नगर प्रमुख हरिनारायण महतोको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।