नेकपाको शक्ति संघर्ष नयाँ चरणमा, ओली र गौतमबीच ‘डिनर संवाद’

 साउन १४, २०७७ बुधबार ७:३२:१७ | उज्यालो सहकर्मी

एक महिनादेखि विवाद बल्झिंदै आएको सत्तारुढ नेकपाभित्रको शक्ति संघर्ष नयाँ चरणमा पुगेको छ । यसअघि गुट–उपगुटको भेला हुँदै आएकोमा मंगलबार नेताहरुबीच स्पष्ट लाइन देखिएको छ ।

स्थायी कमिटी बैठक स्थगित र सञ्चालनको विषयलाई लिएर मंगलबार दुई समूहका नेताहरु स्पष्ट लाइनमा उभिएका हुन् । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बोलाइएको स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गर्नुभयो भने ओलीको सरकारी निवास बालुवाटारमै गएर पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले बैठक सञ्चालन गरे । ओली समूहका नेताहरुले भने बैठक बहिस्कार गरेका छन् । 

हिजाे मंगलबार नै पार्टी उपाध्यक्ष वामदेव गौतमले एकता महाधिवेशनसम्म ओली नै अध्यक्षमा कायम रहने र प्रतिनिधिसभाको कार्यकालभरि उहाँ नै प्रधानमन्त्री हुनुपर्ने भन्दै नयाँ प्रस्ताव गर्नुभएको छ । पहिले आफ्नो राजीनामा माग्ने गौतमको नयाँ प्रस्तावबाट राहत महसुस गरेका प्रधानमन्त्री ओलीले मंगलबार साँझ गौतम निवास पुगेर डिनरसहित संवाद गर्नुभएको छ ।

मंगलबारको बैठकमा को उपस्थित, को अनुपस्थित ?

ओलीले स्थायी कमिटी बैठक स्थगित गरे पनि प्रचण्ड–नेपाल समूहले मंगलबार बालुवाटारमै बैठक सञ्चालन गरेका छन् । तर ओली पक्षले यसलाई बैठक नभनेर गुटको भेला भनेको छ । 

बैठकमा ४४ सदस्यीय स्थायी कमिटीका २८ जना नेता सहभागी थिए । बैठकमा प्रधानमन्त्री ओलीसहित उहाँ निकट १० तथा पूर्वमाओवादी समूहका चारसहित १५ जना नेता सहभागी भएनन् ।

पूर्वमाओवादी समूहका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र नेताहरू टोपबहादुर रायमाझी र मणि थापाबाहेक प्रचण्डनिकट १६ तथा वरिष्ठ नेता माधवकुमार नेपालका १२ र उपाध्यक्ष वामदेव गौतम बैठकमा सहभागी भए । त्यस्तै, आमन्त्रित सदस्यका रूपमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ पनि बैठकमा सहभागी थिए ।

बैठकमा उपस्थित : पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, धनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, देव गुरुङ, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, गणेश शाह, देवेन्द्र पौडेल, चक्रपाणि खनाल र लीलामणि पोखरेल ।

बैठकमा अनुपस्थित : केपी ओली, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट र रघुवीर महासेठ ।

गौतमको प्रस्तावले ओलीलाई राहत

एक महिनाअघि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले नै ओलीले दुवै पद छाड्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । यस बीचमा उहाँको निवास भैंसेपाटीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुको आउजाउ बाक्लियो । ओलीलाई राजीनामा गर्न दबाब बढ्दै गयो । तर मंगलबार अचानक गौतम ओलीको पक्षमा उभिनुभएको छ । 

ओलीले एक पदबाट राजीनामा दिनुपर्ने भन्दै प्रचण्ड–नेपाल समूहको छलफलमा सहभागी हुँदै आएका गौतमले एकता महाधिवेशनसम्म ओली नै अध्यक्षमा कायम रहने र प्रतिनिधिसभाको कार्यकालभर उहाँ नै प्रधानमन्त्री हुनुपर्ने भन्दै प्रस्ताव गर्नुभएको छ ।

ओलीले स्थायी कमिटी बैठक स्थगित गर्ने निर्णय गरेपछि र प्रचण्ड–नेपाल समूहले छुट्टै बैठक गर्ने तयारी गरिरहँदा गौतमको यो प्रस्ताव सार्वजनिक भएको हो । उहाँको नयाँ प्रस्तावले नेकपाभित्र नयाँ तरंग ल्याएको छ । प्रचण्ड–नेपाल पक्षले गरेको स्थायी कमिटी बैठकमा सहभागी गौतमले आफ्नो नयाँ प्रस्तावको आधारमै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।  आफूले अघि सारेको प्रस्तावले पार्टीलाई एकताबद्ध बनाएर लैजानसक्ने उहाँको भनाइ छ ।

उपाध्यक्ष गौतमको प्रस्तावले ओलीलाई राहत मिलेको छ । आफ्नो उपस्थिति विना आफ्नै निवासमा प्रचण्ड–नेपाल समूहले बैठक गरेपछि थप तनावमा पर्नुभएका ओलीले मंगलबार साँझ नेता गौतमसँग भेट गर्नुभएको छ । नेता गौतमकै निवास भैंसेपाटी पुगेर उहाँले डिनरसहित संवाद गर्नुभएको हो ।

व्यक्तिगत र पारिवारिक भनिएको भेटमा ओलीकी पत्नी राधिका शाक्य र पार्टी महासचिव विष्णु पौडेल तथा गौतमका परिवार सहभागी थिए । 

यसैबीच नेकपाका दोस्रो तहका नेताहरूले पार्टीलाई विभाजनतर्फ जान नदिन पहल सुरु गरेका छन् । मंगलबार बालुवाटारमा बहुमत स्थायी कमिटी सदस्यको बैठक सुरु हुनुअघि  घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराईबीच पार्टी फुट्नबाट रोक्न अग्रसरता लिने समझदारी भएको हो ।
 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया