'कहिले जेरी खुवाएर, कहिले तीते करेला खुवाएर कुरा गर्नुपर्छ'

 साउन १९, २०७७ सोमबार २१:४७:५८ | रासस
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भक्तपुरको बालकोटमा रहेको आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तित्वसँंग भेटघाट गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री ओली बालुवाटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँंगको छलफलपछि अपराह्न बालकोटमा रहेको निजी निवासमा आउनुभएको हो ।

धर्मपत्नी राधिका शाक्यसहित बालकोट पुग्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो नयाँ घरमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन गर्नुभयो । आफ्नो सम्पत्ति ट्रस्टलाई दिने घोषणा गरिसक्नु भएका प्रधानमन्त्री ओलीको जीवनकालका विभिन्न पक्ष समेटिएको विषय, तस्बिर, पुस्तक र  महत्त्वपूर्ण दस्तावेजलाई पत्नी  शाक्यले सङ्ग्रह गरी सङ्ग्रहालयका रुपमा गरेको व्यवस्थापनको उहाँले अवलोकन गर्नुभएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो । 

त्यसक्रममा प्रधानमन्त्री ओलीले अब अढाइ वर्षपछि मात्रै आफू स्थायी बसोबासका लागि बालकोट फर्किने बताउनुभयो । नेकपाका नेता एवं पूर्व सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बास्कोटाको जिज्ञासामा प्रधानमन्त्री ओलीले अब अढाइ वर्षपछि मात्र घर फर्कन्छु भनेर जवाफ दिँदै बाँकी साढे दुई वर्ष आफैँले सरकारको नेतृत्व गर्ने सङ्केत दिनुभयो ।

प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बास्कोटा र  बस्नेतसँग राजनीतिक छलफलसमेत गर्नुभएको थियो । जनताको विश्वासलाई कायमै राख्न पनि पार्टीका अर्का अध्यक्ष दाहालसंँगको छलफल सहमतिमा टुङ्गिने प्रधानमन्त्रीले विश्वास लिएको नेकपाका केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो । देश र जनताको हितका लागि जतिसक्दो छिटो सहमतिमा पुग्नु आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभएको उहाँले जानकारी दिनुभयो । 

'जेरी खाएर छुट्टियौँ, जेरी मीठो थियो, कहिले जेरी खुवाएर, कहिले तीतेकरेला खुवाएर कुरा गर्नुपर्छ', बालुवाटारमा सोमबार अध्यक्ष  दाहालसँग  छलफल गरी आफ्नो घर बालकोट आउनुभएका प्रधानमन्त्री ओलीलाई उद्धृत गरी सांसद बस्नेतले बताउनुभयो ।

बालकोट निवासमा प्रधानमन्त्रीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापा, नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति कर्णेल शिवप्रसाद पौडेल, सशस्त्र प्रहरी दुवाकोट भक्तपुरका प्रमुख र राष्ट्रिय अनुसन्धान भक्तपुरका प्रमुखलगायतको टोलीसंँग भक्तपुरको शान्ति सुरक्षाबारेमा जिज्ञासा राख्नुभएको थियो । 

प्रधानमन्त्रीले हनुमन्ते करिडोर निर्माणबारे पनि चासो राख्नुभएको थियो ।  कोरोना भाइरस सङ्क्रमण रोक्न तथा शान्ति सुरक्षा मजबुत बनाउन भक्तपुरका सांसद र प्रशासनले खेलेको भूमिकाप्रति आफू सन्तुष्ट रहेको उहाँले बताउनुभएको थियो ।

प्रधानमन्त्री भएपछि तेस्रो पटक बालकोटमा रहेको निजी निवास पुग्नुभएका उहाँ यसअघि माघ १६ मा वसन्त पञ्चमीको दिन पुग्नुभएको थियो । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि भने उहाँ सोमबार पहिलो पटक निजी निवास बालकोट पुग्नुभएको हो । प्रधानमन्त्री दम्पती आफ्नो निवास र करेसाबारी निरीक्षणसमेत गरेर झण्डै एक घण्टा बसेर बालकोटबाट बालुवाटार फर्किनुभएको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया