पैसा तिरेर खाेला तर्नुपर्ने, १ सयदेखि ३ सयसम्म शुल्क

 भदौ १२, २०७७ शुक्रबार १५:२०:३० | रासस
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ ।

बर्खामा खोला बढेपछि दक्षिणी क्षेत्रका बासिन्दा जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाका बासिन्दा बल्मा नदीमा दैनिकरुपमा आवतजावत गर्दै आएका छन् ।

दैजीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दक्षिणी क्षेत्र जान यो बाटो छोटो दूरीको छ । अहिले यस क्षेत्रमा हुलाकी राजगमार्ग निर्माण भइरहेको छ । बल्मा खोलामा चार वर्षअघि पुल निर्माणका लागि ठेक्का भए पनि अहिलेसम्म निर्माण सकिएको छैन । खोला बढेर तर्न नसकेपछि अहिले सर्वसाधारणले शुल्क तिरी खोला वारपार गर्दै आएका छन् ।

मानिस, सवारीसाधन र सामान तार्न रु १०० देखि रु ३०० सम्म तिर्नुपर्ने अवस्था छ । बेलडाँडीका स्थानीय बासिन्दा जगत चौधरीले खोला तर्न पनि शुल्क तिर्नुपर्ने बाध्यता अझै हट्न नसकेको बताउनुभयो । लामो दूरी तय गरेर खोलासम्म पुग्दा बाढीको पानी नघट्दा घर फिर्ता हुनुपर्ने अवस्थासमेत व्यहोरेको अर्का स्थानीय सियाराम रानाले बताउनुभयो ।

चार वर्षअघि एमएसकेएस एडभेञ्चर नन्देगडा जेभीले सडक डिभिजन कार्यालयसँग २०७४ पुस २६ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । त्यसपछि दुई वर्ष म्याद थप गरिए पनि पूरा भएको छैन । महेन्द्रनगरबाट दक्षिण क्षेत्र जाने सवारीसाधन पनि बाढीको समयमा किनारमा थन्किएर बस्ने गरेका छन् ।

ती सवारी पानीको सतह घटेपछि मात्रै गन्तव्यतर्फ जाने गरेका छन् । कूल ९७ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणका लागि रु छ करोड ८० लाखमा ठेक्का दिइएको छ । बल्मा खोलाले बेदकोट र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई छुट्याएको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया