कलङ्की–चावहिल सडक विस्तारका लागि संरचना हटाइयो, १/१ किमीकाे फरकमा आकाशे पुल

 भदौ १८, २०७७ बिहीबार १५:५९:१० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चक्रपथको दोस्रो चरण (कलङ्कीदेखि चावहिलसम्म) विस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५ प्रतिशत सकिएको छ । सडक विस्तार गरिने क्षेत्रमा रहेका केही घर हटाउने बाहेक यहाँका अरु संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । 

चक्रपथका पहिलो खण्ड कोटेश्वदेखि कलङ्कीसम्म विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड विस्तार गर्ने भएको छ । ११ दशमलव ६ किलोमिटर सडकको विस्तारका लागि निर्माणस्थल खाली गरिएको हो । चिनियाँले यसअघि नै सडक निर्माणको पूर्वअध्ययन गरिसकेको छ । 

सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युतकाे पोललगायतका संरचना सार्ने काम सकिएको छ । त्यस्तै याे सडकमा रहेका दुई हजार एक सय रुख काटिएको छ । सडकको मुख्य भागबाट दुवैतर्फ ३१/३१ मिटरभित्र पर्ने केही घर हटाउन बाँकी छ । महाराजगञ्ज क्षेत्रमा २० घर हटाउनुपर्ने भएकाले त्यसको प्रक्रिया अघि बढाइएको काठमाण्डाै चक्रपथ योजनाका प्रमुख अमृतमणि रिमालले बताउनुभयो । कतिपय स्थानीयवासीले विरोध गरे पनि मुआब्जा दिइने भएकाले समस्या नहुने उहाँको भनाइ छ । 

उहाँका अनुसार ती घर भत्काउन आयोजनाले नै मूल्याङ्कन गरेर मुआब्जा दिने प्रक्रिया अघि बढाएको छ । उहाँले भन्नुभयो, 'अवस्था केही सामान्य भएपछि नै थप काम अघि बढ्नेछ ।' स्वयम्भूमा रहेको एउटा स्तूपा सडकको अधिकर क्षेत्रमा रहेकामा त्यसलाई पनि सारिने भएको छ । स्तूपाको निर्माण गर्दा नै सडकको अधिकार क्षेत्रमा भएकाले अहिले सार्नुपर्ने अवस्था आएको प्रमुख रिमालले बताउनुभयो । काठमाण्डाै महानगरपालिकाले त्याे स्तूपा सार्ने जिम्मेवारी लिइसकेको छ । 

आयोजनाले सडकका दुवैतर्फ रहेका सबै रुख काटिसकेको छ । सडक निर्माण सुरु भएपछि नै नयाँ रुख रोपिनेछ । चक्रपथ पहिलो चरणको निर्माण सम्पन्न भएपछि मात्रै रुख रोपिएको थियो । उहाँले भन्नुभयो, 'यो खण्डमा सडक बनाइरहँदा रुख पनि रोपिनेछ ।' 

चक्रपथ पहिलो खण्डमा सडकमा रहेका संरचना हटाउनु पहिले नै निर्माण सुरु भएको थियो । सडक निर्माण सुरु भइसक्दा पनि संरचना हटाउन सकिएको थिएन । एकातिर सरकारी निकायले नै तुरुन्त युटिलिटी नहटाउने र अर्कातर्फ सडकमा रहेका घर टहरा नहट्दा निर्माणमा ढिलाइ भएको थियो । विसं २०७१ मा सुरु भएको सडक निर्माण विसं २०७२ मा नेपालमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा प्रभावित बनेको थियो । विभिन्न अवरोधका कारण सडक निर्धारित अवधिभन्दा केही ढिलो सम्पन्न भएको थियो ।

चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण सुरु गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई भनेको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन गरेर सडक निर्माण सुरु गर्नेछ । निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण तत्काल आउन नसकिए पनि अवस्था सामान्य भएपछि नै चिनियाँ आएर अध्ययन सुरु गर्ने बताइएको छ । 

याे सडकमा दुई ‘अण्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । सडक विस्तारका लागि सरकारले गएकाे चैतमा सडक हस्तान्तरण गर्ने गरी तयारी गरेको थियो । पहिलो चरणको विस्तारमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।

आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने सडक विभागले जनाएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँ–बायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने छ । आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । पहिलो चरणमा सडक पार गर्न गाह्रो भएको भन्दै आयोजनाले अहिले ६ स्थानमा आकाशे पुलको निर्माण गरिरहेको छ । यो चरणमा भने एक/एक किमी फरकमा आकाशे पुल बन्ने छ ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया