बाग्लुङ बोबाङ पहिरो : सडक पहिरोको कारक

 भदौ १९, २०७७ शुक्रबार १२:३९:२१ | रासस
unn.prixa.net

बाग्लुङ - गएकाे बुधबार रातिको पहिरोले बाग्लुङको ढोरपाटनमा वितण्डा मच्चायो । वितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको छ । कसैका परिवारका सदस्य बेपत्ता छन् भने कसैका घरगोठको नाम निसाना मेटाएको छ । 

पहिरोमा ढोरपाटन नगरपालिका-९ सुप्राङ बस्ने बिरे विकको परिवार नै बेपत्ता भएको छ । बुधबार साँझ खाना खाएर आफ्नै घरमा सुतेका उनीहरुको घरसहित चार जनाको परिवार कहाँ छ भन्ने बिहीबार साँझसम्म पत्तो नभएको हो । विककी श्रीमती र नाम नखुलेका दुई छोराछोरीसहित चार जना पहिरोले बेपत्ता भएको स्थानीयवासीले बताए ।

पहिरोमा बेपत्ता भएका अधिकांश एकै घरका सदस्य छन् । त्यही ठाउँका १० महिनाका नाम नखुलेका एक बालकसमेत बेपत्ता सूचीमा परेका हुन् । बाढीपहिरोमा परि बेपत्ता भएकामध्ये १४ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा चार जनाको मात्र सनाखत भएको छ ।

घटनामा क्षतविक्षत अवस्थामा शवहरु भेटिएकाले सनाखत रोकिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । भेटिएका शव बेपत्ता सूचीका हुन् वा अन्य हुन् भन्नेसमेत यकिन भइनसकेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका-९ का जीवन विक, नारायण विक, उनकी श्रीमती टेकमाया विक र नाम नखुलेकी एक वर्षकी छोरी छन् । त्यही ठाउँका मनिषा विक, शनी विक र उनीहरुका छोराहरु रोशन विक र रवि विक छन् । नाम नखुलेकी १५ दिनकी बालिका, त्यही ठाउँकी मनकुमारी विक, प्रेम पुन, कुमारी विक, समुन्द्र विक, पूनम विक, जीतबहादुर घर्ती, राजु घर्ती, करमती बुढा, रिनाकुमारी घर्ती, दिलमाया पुन, प्रकृति पुन, डोटी पुन रहेका छन् । 

त्यस्तै, हेमबहादुर विक, उजेली विक, दलु विक, नाम नखुलेको १० महिनाको बालक, हस्तमाया विक, तुलमती घर्ती, कौशिला पुन, विशाल पुन, धनमाया विक, तीन वर्षको नाम नखुलेको बालक र बरे विकका चार जनाको परिवार बेपत्ता भएको प्रहरीले जनाएको छ । गलकोटबाट ढोरपाटन घुम्न गएका नवीन भण्डारी र ढोरपाटन नगरपालिका-९ का नाम नखुलेका अन्य तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । आज पुनः खोजी कार्य हुने छ ।

कसरी खस्यो पहिरो ?

ढोरपाटन जाने सडक वर्षौँअघि खनिएको हो । अहिले यो सडक सालझण्डी ढोरपाटन राष्ट्रिय राजमार्गमा सूचीकृत छ । वर्षातमा हिलाम्मे हुने भएकोले यो सडक सञ्चालनमा छैन । बरु गएकाे असारमा मर्मतको नाउँमा देउरालीमा सडक भत्काइएको स्थानीयवासीले बताए । भत्काएको माटो र सडकमा जमेको पानीले पहिरो चलाएको स्थानीय शिक्षक यामबहादुर कायतले बताउनुभयो । 

सडकको माटोसहित पहिरो खसेर भुजीखोला थुनिएको बताइएको छ । थुनिएपछि बनेको ताल फुटेर पहिरो खस्दा ठूलो क्षति हुनेगरी पहिरो र बाढी चलेको प्रारम्भिक अनुमान गरिएको छ । घटनामा के कति मूल्यको क्षति भयो भन्ने खोजी भइसकेको छैन । बेपत्ताको खोजी सकिएपछि मात्र अन्य खोजी हुने बताइएको छ ।

यहाँका अन्य भौतिक पूर्वाधारमा पनि क्षति पुगेको छ । तीन वटा जलविद्युत् आयोजनामा पनि क्षति पुगेकोले विद्युत सेवा पूर्ण ठप्प छ । टेलिफोनको सेवा अवरुद्ध छ । ती आयोजना मर्मत गरेर सञ्चालनका लागि महिनौँ समय लाग्ने बताइएको छ । 

खोलाले आफ्नो बहावसमेत फेरेको, खेतीपाती बगाएको र कतिपय पुलमा पनि क्षति पुगेकाले वातावरण सहज बन्नसमेत केही समय लाग्ने कायतको कथन छ । स्थानीयवासीले बिहीबारदेखि नै खानेबस्ने ठाउँ पाएका छैनन् । घरबार गुमाएकालाई तत्कालका लागि स्थानीयवासीले व्यवस्थापन गरेका छन् । नगरपालिका र दाताहरुले तत्कालका लागि खानपानको व्यवस्थापनमा सहयोग गरेका छन् । 

सडक पहिरोको कारक

पछिल्लो समय अधिकांश ठाउँमा ग्रामीण सडक पहिरोको कारक बनेका छन् । अन्य घटना पुष्टि नभएसम्मका लागि यो घटना पनि ढोरपाटन सालझण्डी सडकमा बर्सातको समयमा लगाइएको डोजरबाट सिर्जित समस्यासमेत भएको स्थानीयवासीको बुझाइ छ । 

सडक खन्दा नाली नतर्काउने कामले बढी जोखिम सिर्जना गरेको छ । यो सडक राष्ट्रिय आयोजनामा परे पनि डोजर लगाउने मात्रै काम भइरहेको छ । संरचनाहरु समयमा नबन्दा पहिरोको जोखिम बढी भएको उपभोक्ताले बताए । 

दुर्गन्धको खतरा

पहिरोले धेरै बस्तुभाउसमेत बगाएको छ । बगेका गाईबस्तु र पशुपंक्षीले दुर्गन्ध र महामारी फैलन सक्नेसमेत चिन्ता बढेको स्थानीय स्वास्थ्यचौकीका प्रमुख दीपक थापाले बताउनुभयो । बिरामी र घाइते अवस्थामा आउने बिरामीलाई उपचार र औषधि वितरणमा समेत समस्या परेको भन्दै थापाले पशुपंक्षीको दुर्गन्ध बढ्न नदिन पनि समयमै चासो राख्नुपर्ने सुझाव दिनुभयो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया