सीपीएलमा सन्दिपकाे टिमले गुयना एमेजन वारियर्ससँग खेल्दै

 साउन २४, २०७५ बिहिबार १३:४१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आवद्ध भएको क्यारेबियन प्रिमियर लिग टी –२० क्रिकेटमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिअट्स र गुयना एमेजन वारियर्स बिहीबार भिड्दैछन् ।

यो खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुने छ ।  दुवै टोली जितको खोजीमा हुँदा नेपाली बलर सन्दिपले पनि आजको खेलमा मौका पाउने सम्भावना धेरै छ ।

तेस्रो अन्र्तराष्ट्रिय फ्रेन्चाईज टी–ट्वान्टीमा सहभागिता जनाइरहेका सन्दीपले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दिपले आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनी विश्व ११ को टिममा परेर भने क्यारेबियन प्रिमियर लिगमा पनि सहभागिता जनाउने मौका पाएका  हुन् । त्यस्तै उनले क्यानडामा टी–टेन प्रतियोगिता पनि खेलेका थिए ।

यता बुधबारदेखि सुरु भएको क्यारेबियन प्रिमियर लिग टी –२० क्रिकेटमा ट्रिनबागाे नाइटराइडर्ससले विजयी शुरुवात गरेको छ ।

पोर्ट अफ स्पेनमा ट्रिनबागाेले सेन्ट लुसिया स्टार्सलाई १०० रनले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नाइटराइडर्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो ।

उसका लागि काेलिन मुन्रोले सर्वाधिक ६८ रन बनाए । ४८ बल खेलेका मुन्रोले ९ चौका तथा १ छक्का प्रहार गरेका थिए । यसैगरी दिनेश रामदीन ५० रनमा नटआउट रहे । २७ बल खेलेका रामदीनले २ चौका र ४ छक्का प्रहार गरे ।

सेन्ट लुसियाका मिचेल म्याकलेनाघन, केसिर्क वीलियम र कायरन पोलार्डले समान दुई दुई विकेट लिए ।

१९६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको सेन्ट लुसिया १७.३ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । लुसियाका लागि आन्द्रे फ्लेचरले सर्वाधिक १९ रन बनाएका थिए ।

९५ रनमा रोक्ने क्रममा त्रिनबागोका लागि ड्वायेन ब्राभो र फवाड अहमदले तीन तीन विकेट लिए । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया