विश्वका सर्वाधिक धनी १ प्रतिशतले अति गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए : अक्सफाम

 असोज ५, २०७७ सोमबार २१:४७:३ | रासस
unn.prixa.net

काठमाण्डाै – विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरिब झण्डै तीन अर्ब १० करोड जनसङ्ख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ । 

पछिल्लो समय कोराना भाइरस महामारीका कारण कार्बन उत्सर्जनमा कमी आए पनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गतिमै अग्रसर देखिएको छ । गरिब तथा विकासशील देशहरूमा प्राकृतिक प्रकोप र विस्थापनको खतरा बढाएको छ । 

अक्सफामको नेतृत्वमा गरिएको एक विश्लेषणले सन् १९९० देखि २०१५ को बीचमा वार्षिक कार्बन उत्सर्जन ६० प्रतिशतसम्म बढेको अवस्थामा पृथ्वीको कुल कार्बन बजेटको एक तिहाइ हिस्सा धनी राष्ट्रको पोल्टामा रहेको देखाएको छ । 

कार्बन बजेट भनेको विनाशकारी तापमान अवश्यम्भावी वृद्धि हुनअघि मानव जातिले उत्पन्न गरेको हरितगृह ग्यास उत्सर्जनको सीमा हो ।

केबल ६ करोड ३० लाख मानिस अर्थात् एक प्रतिशतले सन् १९९० यता कुल कार्बन बजेटको नौ प्रतिशत हिस्सा ओगटेका थिए । 

स्टकहोम वातावरण इन्स्टिच्युटले अक्सफामका लागि गरेको अध्ययन विश्लेषणले कार्बन असमानता लगातार बढेको देखाएको छ । विश्लेषणले एक प्रतिशतको उत्सर्जनको वृद्धिदर विश्वका अति गरिब आधाभन्दा बढी मानिसको भन्दा तीन गुणा बढी देखिएको जनाएको छ । 

नीति, वकालत तथा अनुसन्धान प्रमुख टिम गोरले एएफपीसँग भन्नुभयो, 'चरम आर्थिक असमानता हाम्रो समाजमा विभाजनकारी मात्र होइन, यसले गरीबी न्यूनीकरणको दरलाई पनि सुस्त बनाउने गर्दछ ।' 

सन् २०१५ को पेरिस जलवायु सम्झौताले देशहरुलाई वैश्विक तापमान वृद्धिलाई 'पूर्व–औद्योगिक स्तर' भन्दा दुई डिग्री सेल्सियसभन्दा तल झार्न प्रतिबद्ध बनाएको छ । 

तर त्यस बेलादेखि नै उत्सर्जन निरन्तर बढिरहेको छ । धेरै विश्लेषणहरूले चेतावनी दिएका छन् कि हरित विकासलाई पूर्ण प्राथमिकता नदिएसम्म कोभिड–१९ का कारण प्रदूषणमा आएको कमीलाई जोगाएर राख्न नसकिने बताएका छन् । 

अहिलेसम्म केबल एक डिग्री सेल्सियस विश्व तापमान बढेकै अवस्थामा पनि पृथ्वीका विभिन्न भागमा वनडढेलो, सुख्खा र समुद्री सतह बढेका कारण ठुल्ठूला आँधीबेहरी देखिएको छ । 

गोरले सरकारहरुले कोभिड–१९ को विषम परिस्थितिमा जलवायु परिवर्तन र असमानताका दुई वटा चुनौतीहरूलाई सामना गर्न विशेष पुनरुत्थान योजना अघि बढाउनुको विकल्प नरहेको बताउनुभयो । 

'यो स्पष्ट भइसकेको छ कि विगत २०/३० वर्षको अवधिमा अपनाइएको आर्थिक वृद्धिको असमान ढाँचाले विश्वका सबैभन्दा गरिब आधा जनसङ्ख्याले फाइदा लिन सकेका छैनन्', उहाँले भन्नुभयो । 

'आर्थिक विकास र जलवायु सङ्कटबीच हामीले कुनै एउटा छान्नु पर्दछ भन्ने गलत मान्यता जबरजस्ती स्थापित गर्न खोजिएको छ, जुन दुर्भाग्यपूर्ण हो ।'

अक्सफामको प्रतिवेदनमाथि टिप्पणी गर्दै अफ्रिकी देश चाडकी वातावरणीय अभियन्ता हिन्डो ओमारु इब्राहिमले आर्थिक समानतालाई प्राथमिकता नदिइ जलवायु परिवर्तनलाई मात्र सम्बोधन गर्न नसकिने बताउनुभयो ।  

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया