धनगढी–अत्तरिया सडक ६ लेन बनाउने काम दुई पटक थपिएकाे समयमा पनि नसकिने

 असोज ७, २०७७ बुधबार २०:२१:२८ | सीताराम ओझा
unn.prixa.net

कैलाली –  धनगढी मोहनापुल हुँदै अत्तरिया जोड्ने ६ लेन सडकको निर्माण दुई पटक थप भएको समयमा पनि नसकिने देखिएको छ । निर्माण व्यवसायीले दुई पटक थप भएको समयमा पनि निर्माण नसकिने बताएका हुन् ।

सडकको पहिलो खण्डका लागि २०७७ मङ्सिर ६ गते, दोस्रो र तेस्रो खण्डका लागि माघ १५ गतेसम्मका निर्माण अवधि थपिएको थियो । दोस्रो र तेस्रो खण्डमा सडक निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवाका कार्यकारी निर्देशक रोशन भट्टले माघभित्र सडक निर्माणको काम नसकिने बताउनुभयो । उहाँले लकडाउनले काम प्रभावित भएकाले समयमै निर्माण कार्य सक्न समस्या भएको बताउनुभयो । ‘अहिले पनि सडक निर्माणको काम जारी छ । हामी कालोपत्रेको लेयर थप्ने तयारीमा छौँ’, उहाँले भन्नुभयो , ‘माघसम्म सबै काम नसकिन सक्छ । त्यसैले ६ महिना म्याद थप्नुपर्ने देखिएको छ ।’ 

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ मा निर्माणको सम्झौता भएको थियो । तर निर्माण सम्पन्न नभएपछि दुई पटक म्याद थप भइसकेकाे छ ।

कोरोना भाइरस सङ्क्रमणको त्रासले गएकाे चैतमा गरिएको लकडाउनले सडक निर्माणको काम प्रभावित भएको निर्माण व्यवसायीले बताउँदै आएका छन् । योजना प्रमुख होमबहादुर एसीका अनुसार मोहनापुल–अत्तरिया ६ लेन सडकको भौतिक प्रगति अहिले ७२ प्रतिशत पुगेको छ । ‘सडकको पहिलो तहमा कालोपत्रे गर्ने काम सकिएको छ’, उहाँले भन्नुभयो, ‘कालोपत्रे गरिएको सडकमा अन्तिम लेयर थप्ने तयारी थालिएको छ ।’

एक अर्ब ८४ करोड रुपैयाँको लागतमा मोहनापुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर सडकमा अहिले फुटपाथ निर्माण तथा ग्राभेल र रेलिङ लगाउने काम जारी रहेको योजना कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा ४२ करोड रुपैयाँ खर्च गर्न अनुमति दिइएको छ । कामको आधारमा रकम थप गर्न सकिने मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयका प्रमुख एसीले बताउनुभयो । 

याे सडक खण्डभित्र पर्ने तीन वटा पुल निर्माणको कार्य भने अझै सुरु भएको छैन ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया