दशैँ–तिहार नजिकियाे : पहिले घर फर्किनेकाे लर्काे, यसपालि मुगलान जानेकाे घुइँचाे

 असोज ७, २०७७ बुधबार १९:८:९ | सीताराम ओझा
unn.prixa.net

धनगढी – असोज महिना सुरु भइसक्दा चाडपर्व पनि नजिकिने क्रममा छन् । साधारण अवस्थामा यो समय विदेशिएका नेपाली स्वदेश फर्किने बेला हो तर कोरोना महामारीका कारण यो वर्ष भने अवस्था केही फेरिएको छ ।

विगतका वर्षहरुमा असोज लागेपछि पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकी भएर स्वदेश फर्किनेको लर्को हुन्थ्यो । वर्षभरि मुगलानमा पसिना बगाएका नेपालीहरु दशगजामा पुग्दा दङ्ग हुन्थे । तर अहिले ती सुदूरपश्चिमका अनुहार र पश्चिमी सीमा नाकाको दृश्य फेरिएको छ । अहिले स्वदेश फर्किनेको सङ्ख्याभन्दा रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या तीन गुणा बढी छ ।

कोरोना भाइरसको प्रभावले छाक टार्नै मुश्किल भएपछि भारत जान लागेको बझाङका स्थानीय प्रयाग कोइरालाले बताउनुभयो । ‘स्वदेशमै बसे पनि रोजगारी पाइने होइन’, उहाँले भन्नुभयो, ‘पेट पाल्नकै लागि भए पनि जानुपर्ने भारत नै हो ।’ कोरोनाकै प्रभावका बीच गएको असार महिनामा घर फर्किनुभएका उहाँ फेरि त्रिनगर–गौरीफन्टा नाका हुँदै भारत पस्नुभयो ।

अहिले यसअघि कहिल्यै भारत नगएका सुदूरपश्चिमवासी पनि रोजगारीका लागि त्यसतर्फ जान बाध्य छन् । नेपालीहरुको महान् चाड दशैँ आउन एक महिनामात्र बाँकी रहेका बेला रोजगारीकै लागि भारत जान लागेको गौरीफन्टामा भेटिएका हरिश मल्लले बताउनुभयो । 

‘दशैँ नजिकै आउँदै गरेको भए पनि दैनिकी चलाउनै मुश्किल हुन लागेपछि भारत जाँदै छु’ उहाँले भन्नुभयो, ‘स्थानीय र प्रदेश सरकारले रोजगारीको वातावरण बनाउला भन्ने विश्वास छैन ।’

असोज सुरु भएपछि मात्रै गौरीफन्टा नाका भएर झण्डै ६ हजार प्रदेशवासी भारत पसेका छन् । सशस्त्र प्रहरीको तथ्याङ्कअनुसार असोज १ गते पाँच सयभन्दा बढी, २ गते नौ सय ६४ जना, ३ गते नौ सय ४६ जना, ४ गते एक हजार ३६ जना, ५ गते एक हजार दुई सय ८७ जना र ६ गते एक हजार ६ सय नौ जना सुदूरपश्चिमेलीहरु भारत पसेका छन् । गौरीफन्टा नाका भएर भारत जानका लागि सयौँको सङ्ख्यामा प्रदेशवासी लाइनमा बसेर मुगलान पसिरहेका छन् । 

गएको चैत महिनादेखि सुरु भएको कोरोना भाइरसको प्रभावका कारण लाखौँ सुदूरपश्चिमवासी स्वदेश फर्किएका थिए । कतिपय कोरोनाको त्रासले फर्किएका थिए भने कतिपय रोजगारी गुमेपछि घर आएका थिए । झण्डै चार, पाँच महिनाको स्वदेश बसाइपछि घर खर्च चलाउनसमेत नसकिने भएपछि फेरि पनि भारत जानु परेको उनीहरुको गुनासो छ । न उनीहरुलाई सरकारको स्वरोजगारको कार्यक्रमले रोक्न सकेको छ न भारतमा बढिरहेको कोरोना भाइरसको त्रासले रोकेको छ ।

सरकारले युवाहरुले बिदेसिनुपर्ने बाध्यताको अन्त्य गरिने बताए पनि नीति तथा कार्यक्रमहरु कागजमै सीमित भएका छन् । जसका कारण सयौँ सङ्ख्यामा सुदूरपश्चिमेलीहरु चाडपर्व नजिकिँदै गर्दा पनि विदेशिन बाध्य छन् । 

यो समस्या सुदूरपश्चिमको मात्रै नभएर देशभरिकै हो । अहिले प्रमुख नाकाहरुमा स्वदेश भित्रिने भन्दा बाहिरिनेको सङ्ख्या धेरै छ । हातमुख जोड्न र दैनिक गुजारा गर्नकै लागि बिदेसिनुपर्ने अवस्थाको अन्त्य कहिले होला कुन्नि ? यो विदेशिनेहरुको साझा प्रश्न हो ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया