चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सुरु

 असोज १७, २०७७ शनिबार १४:५७:१८ | रासस
unn.prixa.net

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । कोरोनाका कारण झण्डै छ महिना ठप्प रहेको गतिविधि पुनः सञ्चालनमा आएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्ती सफारी, जङ्गलवाक र प‌ंक्षी दृश्यावलोकन खुला भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, 'जीप सफारीका लागि बाटो मर्मत गर्दैछौँ, दशैँअघिसम्म सञ्चालनको तयारीमा छौँ ।' उहाँले आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेको भन्दै क्रमशः अवस्था सहज बन्दै जाने बताउनुभयो ।

निकुञ्जअन्तर्गतका सामुदायिक वनमा भने यसअघि नै पर्यटकीय गतिविधि खुल्ला भइसकेका छन् । निकुञ्जले राप्ती नदीमा डुङ्गा सञ्चालनका लागि ठेक्का प्रक्रिया पनि अघि बढाएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो । उहाँले पदयात्रा मार्गको झाडी सरसफाइको काम पनि भइरहेको बताउनुभयो ।

असोज, कात्तिक महिना निकुञ्ज घुम्न राम्रो मौसम मानिन्छ । यस वर्ष पर्यटकीय गतिविधि शून्य छ । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले निकुञ्जले प्रवेश खुला गरेपछि पर्यटकीय क्षेत्र चलायमान हुने बताउनुभयो ।

उहाँले दशैँ तिहारमा आन्तरिक पर्यटक आउने आशामा सौराहाका व्यवसायी रहेको जानकारी दिनुभयो । सौराहामा छुटलगायतका प्याकेजका कार्यक्रम पनि घोषणा भएको उहाँले बताउनुभयो ।गएकाे वर्ष एक लाख ८२ हजार ४३५ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका थिए ।

यसमध्ये ८९ हजार ४४१ नेपाली, १४ हजार २३९ सार्क राष्ट्रका र ७८ हजार ७५५ जना अन्य देशका थिए । गएकाे वर्ष पर्यटनबाट मात्र १९ करोड ९२ लाख ५५ हजार ६८१ रुपैयाँ कमाएको निकुञ्जको यस वर्ष आम्दानी शून्य छ ।

निकुञ्जले पर्यटक प्रवेश शुल्क र डुङ्गा शयरको बोलपत्रमार्फत राजश्व सङ्कलन गर्ने गरेको छ । विसं २०३० मा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको प्रमुख पर्यटकीय गन्तव्यको निकुञ्ज हो ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया