मुख्यमन्त्रीकाे निर्देशन : 'देउखुरीमा जग्गा किनबेच तथा कित्ताकाट राेक्नुस्'

 असोज २२, २०७७ बिहीबार १८:५०:५७ | रासस
unn.prixa.net

फाइल फाेटाे

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुन सक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिनुभएको छ । प्रदेशको राजधानी र नामाकरणपछि बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले त्यस क्षेत्रमा गुरुयोजनाको टुङ्गो नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताउनुभयो । 

प्रदेश सरकारले यसअघि दाङको राप्ती, गढवा गाउँपालिकाको वडा नं १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ । गैरकानुनी रुपमा किनबेच हुन सक्ने भएकाले रोक्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन उहाँले निर्देशन दिनुभयो ।

राप्ती उपत्यकाको राप्ती , गढवा गाउँपालिका र शीतगंगाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । राप्ती उपत्यका भन्नाले दाङको राप्ती, गढवा गाउँपालिकाको वडा  १,२ र ३ तथा अर्घाखाँचीको शितगंगाको वडा नं  ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमशः बनाइँदै जाने  जानकारी दिनुभयो । उहाँले नक्साकाे डिजाइन, गुरुयोजना र ल्याण्डपुलिङ जस्ता काम क्रमशः अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'अहिलेलाई हेरेर होइन, ५० वर्षपछि सम्म पनि व्यवस्थित शहर रहने गरी योजना गर्छौँ, योजनाका माध्यमबाट मान्छेको सोच बदल्छौँ ।'

राजधानी र नामको टुङ्गो सही ढङ्गले लगाएर सङ्घीयताको वास्तविक कार्यान्वयन गर्न प्रदेश सफल भएको समेत उहाँले उल्लेख गर्नुभयो ।  

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया