पुनःगठित मन्त्रिपरिषद्को विशेषता

 असोज २९, २०७७ बिहीबार ७:१४:११ | रासस
unn.prixa.net

काठमाण्डाै - मन्त्रिपरिषद्मा आज गरिएको पुनःगठनले केही समययता रिक्त मन्त्रालयले नेतृत्व पाएका छन् ।

तीन मन्त्रालयको नेतृत्वमा नयाँ अनुहार आएका छन् । यसैगरी मन्त्रिमण्डलमा व्यापक हेरफेर हुने भन्ने कतिपय अड्कलबाजीलाई यो पुनः गठनले असत्य सावित गरेको छ ।

पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिमण्डल पुनःगठन, पार्टी एकताका बाँकी काम, संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिलगायतबारे दैनिकजसो परामर्श हुँदै आएको थियो ।

नेकपाका शीर्ष नेताहरुका बीचमा पनि धेरै नयाँ अनुहारका मन्त्री पठाउने र अधिकांश पुरानैलाई निरन्तरता दिने भन्नेमा विभिन्न कोणबाट छलफल चलेको थियो । गएकाे भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पार्टीभित्रको अन्तरविरोध हल गर्दै सङ्घीय र प्रदेश सरकारमा आवश्यकतानुसार हेरफेर गर्ने निर्णय गरेको थियो । त्यही कार्यादेशबमोजिम सरकार र पार्टीका कामलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने सङ्कल्प पनि नेकपाको पछिल्लो सचिवालय बैठकले गरेको थियो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मौजूदा मन्त्रिपरिषद्मा केही नयाँ मन्त्रीको पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गर्नुभएको हो । नयाँ जिम्मेवारीमा रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले लिनुभएको छ भने उपप्रधानमन्त्री एवं रक्षामन्त्री रहनुभएका ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।

विगतमा विनाविभागीयमन्त्री बनाइएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट कार्यालय सञ्चालन गर्न दिइए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को स्पष्ट जिम्मेवारीसहित मन्त्री तोकिएको यो नयाँ अभ्यास हो । उपप्रधानमन्त्री पोखरेलले कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समिति संयोजकसमेतको भूमिका प्रभावकारीरुपमा निर्वाह गर्नुभएका सन्दर्भमा प्रधानमन्त्री ओलीलाई सघाउने गरी यो नयाँ जिम्मेवारी दिइएको देखिएको छ ।

नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै नेता पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीसहित मन्त्रिपरिषद्को समग्र कामको संयोजनको भूमिका पाउनुभएको उल्लेख गर्नुभएको छ ।

रिक्त अर्थमन्त्रीमा नियुक्त विष्णुप्रसाद पौडेल विगतमा पनि अर्थमन्त्री भइसक्नुभएका नेकपाका महासचिव हुनुहुन्छ । निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई राजनीतिक पृष्ठभूमिको अभावका कारण कतिपय बजेट शीर्षकमा पार्टीभित्रैबाट समेत आलोचना भएका स्थितिमा नयाँ अर्थमन्त्री राजनीतिक क्षेत्रको अनुभवी व्यक्ति हुनुभएको छ ।

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामापछि रिक्त सञ्चारमन्त्रीमा यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहनुभएका पार्वत गुरुङले जिम्मवारी पाउनुभएको छ ।

उहाँ गएकाे प्रतिनिधिसभामा देशकै सबैभन्दा बढी मतान्तरबाट विजयी हुने दोलखाका सङ्घीय सांसद् हुनुहुन्छ । शहरी विकासमन्त्रीमा नियुक्त कृष्णगोपाल श्रेष्ठ लामो समय काठमाण्डौ उपत्यकाको पार्टी नेतृत्वमा रहनुभएको थियो । उहाँ पूर्व स्थानीय विकास राज्यमन्त्री पनि हुनुहुन्छ । महिलामन्त्री हुनुभएका सिरहाका लीलानाथ श्रेष्ठ पहिलो पटक मन्त्री हुनुभएको छ ।

नवनियुक्त मन्त्रीसँग प्रधानमन्त्री ओलीले छलफल गरी सरकारका प्राथमिकताबारे निर्देशन दिनुभएको छ । मन्त्रीहरुको शपथग्रहण बिहीबार हुने जनाइएको छ । बडादशैँपूर्वको यो हेरफेरले पुराना मन्त्रीहरुलाई आत्मबलका साथ काम गर्न र नयाँ मन्त्रीहरुलाई नयाँ उत्साहका साथ कार्यक्षेत्रमा ओर्लन प्रेरणा दिने विश्वास छ । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया