ढुक्क हुनुहोस, अब कर्मचारी पाउनुहुन्छ ! : मन्त्री पण्डित

 साउन २६, २०७५ शनिबार १७:१०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिले आफ्नो सेवालाई भन्दा पनि नागरिकलाई दिने सेवालाई सर्वोपरी ठानेर काम गर्नुपर्ने बताउनु भएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरको दोश्रो जिल्ला सभामा बोल्दै उहाँले छिट्टै सबै प्रदेश, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकामा दरबन्दी अनुसारका कर्मचारी पठाइसक्ने बताउनुभएको छ । मन्त्री पण्डितले कर्मचारी पठाइने भएकाले ढुक्क भएर काम गर्न जनप्रतिनिधिलाई आश्वासन दिनुभएको छ । उहाँले नागरिकबाट चुनिएका जनप्रतिनिधिहरुले नागरिकलाई सन्तुष्ट बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पुरानो संरचना छाडेर नयाँ संरचनामा जाँदा आउने समस्यालाई समाधान गर्दै अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो । उहाँले प्रदेश सरकार र स्थानीय सरकारले नयाँ व्यवस्था तथा संरचनामा आउने समस्यालाई पन्छ्याउने भन्दा पनि समाधान गर्ने तर्फ लाग्नु पर्ने बताउनुभयो ।

पहिलाको व्यवस्थालाई काँचो इँटाको पुरानो घर र अहिलेको व्यवस्थालाई पक्की इँटाको नयाँ घरको संज्ञा दिँदै मन्त्री पण्डितले भन्नुभयो, ‘हिजो काँचो इँटाको कच्ची घर थियो, अहिले पाको इँटाको पक्की घर बनाउँदै छौ, पुरानो घरबाट नयाँ बनाएर सर्दा जस्तो अवस्था आउछ, अहिले त्यस्तै परिस्थिति छ ।’

संविधानले दिएको अधिकार भित्र तीन वटै तहको सरकार चल्ने हो भन्दै उहाँले केही नगरपालिकाले गरेको कर वृद्धिप्रति लक्षित गर्दैै भन्नुभयो, ‘कतिपयले नपाएको अधिकार प्रयोग गर्ने, कतिपयले पाएको अधिकार पनि पुगेन भन्ने, कतिपय पाएको अधिकार पनि धेरै भो भन्ने, कतिपय अझै अलमलमै परेका छन् ।’
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया