गाजामा मारिनेको सङ्ख्या रिपोर्ट गरिएभन्दा धेरै रहेको एक अध्ययन...
पुस २७, २०८१ शनिबार
भक्तपुर - दशैँ तिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य वस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाका अधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र मासु पसलमा कुहिएका सामाग्री बिक्रीमा राखेको पाइएको छ ।
सूर्यविनायक नगरपालिकाले एक हप्ता लगाएर गरेको अनुगमनमा बजारमा छ्यापछ्याप्ती अखाद्य वस्तु बिक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका संयोजक एवं नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले जानकारी दिनुभयो ।
नगरपालिकाले कटुञ्जे, चुनदेवी, पाण्डुबजार, सूर्यविनायक क्षेत्रका म्याक्स स्टोर, एम स्टोर, बाराही खाद्य किराना स्टोर, बेष्ट मिनिमार्ट, एजबी स्टोर, युनिक स्टोर, सुष्टी सप्लायर्सलगायतका स्टोर तथा पसलमा अनुगमन गरेको थियो ।
यस्तै सूनपा-४ दक्षिणबाराहीदेखि हुँदै गाम्चासम्मका आरके जनरल स्टोर, जितेन्द्र कोल्ड स्टोर, राजु किराना पसल, शुभमाकर ट्रेडर्स, राधेश्याम स्टोर, बालकृष्ण स्टोर, ग्रिन मार्ट, पाथीभरा किराना स्टोर, जेएलपी स्टोर, लक्ष्मीकृष्ण स्टोर, रेड एप्रोन मार्टमा अनुगमन भएको थियो ।
अनुगमनमा क्रममा अधिकांश पसलमा मूल्यसूची नराखेर एउटै सामानको फरक मूल्यमा बिक्री भएको, म्याद गुज्रेका सडेगलेका सामान बिक्रीका लागि राखिएको पाइएको नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडेलले जानकारी दिनुभयो ।
उहाँले बालकोट क्षेत्रका योर च्वाईस लिक्वैर्स स्टोर, लिपी शब्द स्टोर, स्वस्तिका ट्रेडर्स, सिजन किराना स्टोर, सापकोटा ग्रोसरी, दुर्गा हिमालय स्टोर, मानसी जनरल स्टोर, उग्रचण्डी स्टोर, कृष्ण भण्डार घरलगायतमा भएको अनुगमनमा पनि अखाद्य वस्तु छ्यापछ्याप्ती पाइएको बताउनुभयो ।
अनुगमनका क्रममा जफत गरिएका करिब ३० हजार रुपैयाँ मूल्य बराबरको सामग्री स्थानीयवासीको रोहबरमा नगरपालिकाले नष्ट गरेको छ । संयोजक बस्नेतले अनुगमन गर्ने अधिकार स्थानीय सरकारसँग भए पनि कारबाही गर्ने अधिकार नहुँदा अनुगमन फितलो हुने गुनासो गर्नुभयो ।
भक्तपुर नगरपालिकाका अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बजारमा अखाद्य वस्तु र कुहिएका तथा सडेगलेको बिग्रिएको मासु समेत बिक्री गरेको पाइएको बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयसँग भएको बताउँदै गल्ती गर्ने व्यापारीलाई कारबाही गर्न नगरपालिकाले प्रशासनलाई पत्र पठाए प्रशासनले कारबाही गर्ने जनाउनुभयो ।
उहाँले नगरपालिकाले अनुगमनको निचोडसहित लिखित जानकारी दिएमा कारबाहीका लागि जरिवानासहितको कारबाही गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।