चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन

 कात्तिक ४, २०७७ मंगलबार १०:५३:४५ | रासस
unn.prixa.net

काठमाण्डौ  - गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड-१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररुपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो ।

निकट रहेको बडादशैँ, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्न जाँदा सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैँ बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न मन्त्रालयले निर्देशन दिएको छ ।

जोखिम नियन्त्रणका लागि समन्वयात्मकरुपमा हरसम्भव उपायहरु अवलम्बन गर्न र गराउन मातहतका सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

कोभिड-१९ को सङ्क्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य मापदण्डअनुरुप दूरी कायम गर्ने, भीडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमितरुपमा साबुनपानीले हातधुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता क्रियाकलापलाई नै भरपर्दो उपाय मानिएको मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

साथै अतिआवश्यक काम नपरि घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला, जमघट तथा भोजभतेर नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । यस वर्षको चाड जो जहाँ छौँ त्यहीँ बसी मनाउन र स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्यरुपमा पालना गर्न र गराउनसमेत अनुरोध गरिएको छ ।

चाडपर्वको अवसरमा चाडपर्व केन्द्रीत सुरक्षा योजना बनाएर कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी, कृत्रिम अभाव, कालोबजारीलगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन/गर्न नदिइ भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन, सुरक्षा निकायलाई मन्त्रालयले निर्देशन गरेको छ ।

कानुनविपरीतका गतिविधिमा संलग्न हुनेलाई तत्काल कारबाही गर्न मातहत सुरक्षा निकाय तथा सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया