तस्करी राेक्दा असई र जवानकाे हत्या, घटनामा संलग्न ७ पक्राउ

 कात्तिक ४, २०७७ मंगलबार १७:३७:४४ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीमा दुई जना प्रहरीको हत्यामा संलग्न सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका १२ काे जुगेडामा रहेको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेकालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

आफूहरुले तस्करी गरी ल्याएको केराउ रोक्न खोजेपछि प्रहरीको हत्या गरेको उनीहरुले बयान दिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १० का ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ का २५ वर्षीय रामगोपाल राना छन् । उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुर दर्ता भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गएको शनिबार राति गस्तीका लागि बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गएका बेला असई विक र जवान साउद हराएका थिए । खोजी गर्ने क्रममा विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो भने साउदको साेमबार भेटिएको प्रहरीले जनाएको छ । विकको शव भेटिएको ठाउँबाट झण्डै दुई सय मिटर उत्तर–पूर्वमा बालुवामा गाडिएको अवस्थामा साउदको शव भेटिएको एसएसपी मुकेश सिंहले बताउनुभयो ।

जवान साउदको टाउको र गर्धनमा चोट देखिएको छ । असई विकको हराएको पेस्तोल र मोबाइल पनि भेटिएको छ । घटनास्थलमा छरिएका केराउ देखेपछि प्रहरीले त्यही आधारमा अनुसन्धान गर्दै जाँदा केराउ तस्करी रोक्न खोज्ने क्रममा असई विक र जवान साउदको तस्करीमा संलग्नहरुले हत्या गरेको पत्ता लगाएको हो ।

भारतमा केही समययता केराउकाे माग उच्च छ । त्यही कारण नेपालका विभिन्न नाका भएर भारतमा केराउ तस्करी हुने गरेको छ । यसअघि टीकापुर र भजनीको नाका प्रयोग गरी केराउ तस्करी हुने गरेकोमा पछिल्लो केही समययता तस्करहरुले उपमहानगरपालिका १० मोहनाघाट प्रयोग गर्न थालेका थिए ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया