सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

 कात्तिक १५, २०७७ शनिबार ११:२८:४१ | रासस
unn.prixa.net

चितवन - लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ ।

लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भइरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्चालकले व्यवस्थापन गरिरहेका छन् । 

उहाँका अनुसार सबै पर्यटक स्वदेशी हुन् । जिल्लाभन्दा बाहिरका पर्यटक बढी रहेको उहाँले जानकारी दिनुभयो । काठमाण्डौ, पोखरा, वीरगन्ज, बुटवल, नेपालगञ्ज लगायतका क्षेत्रबाट पारिवारिक र समूहगत रुपमा युवाहरु यहाँ आएको भट्टराईको भनाइ छ ।

उहाँले भन्नुभयो 'यसले निरन्तरता पाए राम्रो हुन्थ्यो, भोलिदेखि के हुन्छ थाहा छैन ।' गएको चैत ११ गतेबाट बन्द रहेका सौराहाका होटलहरु बीचमा केही समय खुलेको भए पनि पर्यटक आएका थिएनन् । सौराहामा ११० होटल छन् जसमध्ये एक सय हाराहारीले सेवा शुरु गरेका छन् । 

पर्यटकको चहलपहल बढेसँगै रेष्टुरेन्ट पनि खुलेका छन् । होटलमा भन्दा रेष्टुरेन्टको व्यापार बढी छ । जिल्लाका आन्तरिक पर्यटक घुमेर रेष्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने साँझ सौराहामा नै बस्ने गरेका छन् ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा रहेका ८० रेष्टुरेन्टमध्ये लगभग सबै खुलेका छन् । उहाँले भन्नुभयो, 'व्यवसायी उत्साहित भएका छन् । क्रमशः बढ्ने हाम्रो अपेक्षा छ ।' राप्ती नदीको किनारमा बनाइएका पबमा बिहानदेखि साँझसम्म रमाउने क्रम बढेको उहाँले जानकारी दिनुभयो । 

पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी सुरु भएको छ । सौराहाबाट काठमाण्डौ आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन् । क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष समेत रहनु भएका जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले दशैँसँगै पर्यटक बढेपछि आफूहरुमा उत्साह थपिएको बताउनुभयो ।

आन्तरिक पर्यटक आउने क्रम सुरु भएको भन्दै उहाँले कोभिड सङ्क्रमण नहोस् भन्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'पाहुनाको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले तोकेको मापदण्ड हामीले पूरा गरेका छौं ।' सबै व्यवसायीले सङ्क्रमण फैलिन नदिनका लागि सतर्कता अपनाएको उहाँको भनाइ छ । 

सात महिनादेखि घरमा नै पट्यारलाग्दो बसाइले गर्दा पनि आन्तरिक पर्यटकहरु घुम्न रुचाएका छन् । सफारीका लागि यो निकुञ्ज प्रख्यात छ । स्वदेशी र विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन् । दुर्लभ एकसिंगे गैँडा, बाघ, घडियाल गोही जस्ना जनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया