गाजामा मारिनेको सङ्ख्या रिपोर्ट गरिएभन्दा धेरै रहेको एक अध्ययन...
पुस २७, २०८१ शनिबार
चितवन - चितवन राष्ट्रिय निकुञ्जमा चार वर्षपछि पुनः तस्करले गैँडा मार्न थालेपछि निकुञ्ज नयाँ रणनीतिका साथ संरक्षणमा जुटेको छ । गएको साउनयता मात्र चोरी सिकारीबाट चार गैँडा मारिएका छन् ।
यसै अवधिमा प्राकृतिक कारण १० वटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउन थालिएको हो ।
निकुञ्जले चोरी शिकार नियन्त्रणका लागि तिहारअघि नै तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर निकुञ्ज विभाग हुँदै वन तथा वातावरण मन्त्रालयमा पठाउँदै छ । वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीको निर्देशनमा तत्काल योजना निर्माण गर्न लागिएको हो । योजना बनेपछि मन्त्रालयकातर्फबाट आवश्यक सहयोग गरिने ओलीले आश्वासन दिनु भएको छ ।
बरालले भन्नुभयो, 'हामी योजना बनाएर संरक्षणमा जुटेका छौ । बीचको समयमा चोरी शिकार बन्द भएसँगै कतिपय संरचना भत्किएकाले पुनः पूर्ववत् अवस्थामा फर्काएर चोरी शिकार नियन्त्रणमा निकुञ्ज जुटेको छ।'
बरालले निकुञ्जभित्र कडाइसाथ गस्ती, बाहिर सुराक सञ्जालको व्यापक प्रयोग र नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरोसँग सहकार्य गरेर प्रविधिको प्रयोग गरी चोरी सिकारी नियन्त्रण अभियान गरिन लागेको जानकारी दिनुभयो ।
निकुञ्जका संवेदनशील क्षेत्रमा स्विप अप्रेसन सुरु गरिएको छ भने पुरै निकुञ्जलाई आफ्नो नियन्त्रणमा रहने गरी गस्ती गरिएको छ । पैदल, डुङ्गा, साइकल, मोटरसाइकल, गाडी, हात्तीबाट निगरानी गरिँदै आइएको छ । अहिले निकुञ्जमा ४६ वटा पोष्ट रहेका छन् ।
सङ्कटकालको समयमा तस्करी बढेका बेला पोष्टको सङ्ख्या ५२ पुर्याइएको थियो । निकुञ्जले पोष्ट थप गर्ने योजना बनाएको छ । बरालले मध्यवर्तीका बासिन्दाहरुसँग सहकार्य गरी सुराक सञ्जाललाई चुस्त बनाउन लागिएको जानकारी दिनुभयो ।
विसं २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारेयता प्राकृतिक कारणले मात्र मरेका थिए । गएकाे वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए । यस वर्ष तस्करका कारण मरेका चार गैँडा फेला परेसँगै मन्त्रालयको समेत ध्यानाकर्षण भएको हो ।
सन् २०१५ को गणना अनुसार नेपालमा ६ सय ४५ गैँडा रहेका छन् । यसमध्ये गैँडाको मुख्य वासस्थान चितवनमा मात्रै ६ सय ५ गैँडा भेटिएका थिए । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/०५९ मा मरेका हुन् । यो वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा चोरी सिकारीले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । यस आर्थिक वर्षमा निकुञ्जमा गैँडा गणना गरिँदै छ ।
गएकाे वर्ष गणना गर्ने अन्तिम तयारीमा कोरोना सङ्क्रमण बढेपछि रोकिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।