गलत डिजाइनका कारण जाजरकोटमा सात वर्षदेखि पुल निर्माणकाे काम अलपत्र

 कात्तिक २५, २०७७ मंगलबार १०:४२:५६ | रासस
unn.prixa.net

जाजरकाेट - छिन्चु - जाजरकोट सडकअन्तर्गत पासागाड खोलाको पुल सात वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो ।

सडक विभाग र आइएमइरआरसी कन्सल्टेन्सी, ललितपुरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पासागाडबाहेक छिन्चु–जाजरकोट सडकको सबै खोलामा पुल निर्माण भइसकेका छन् । सदरमुकाम खलङ्गासँगै जोडिएको खोलामा पुल नबन्दा बाहिर जाने जिल्लाभरिका यात्रुले वर्षायाममा ठूलो सास्ती भोग्नु परिरहेको यात्रुको भनाइ छ ।

पुल नहुँदा बर्सेनि वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । तीन करोड रुपैयाँ लागतको पुल निर्माणका लागि सात वर्षअघि लुम्बिनी र आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको थिए । पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल नमिल्दा पुल निर्माण गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ ।

परामर्शदाता कम्पनी आइएमइरआरसी कन्सल्टेन्सीलाई सात लाख रुपैयाँमा पुल डिजाइनको जिम्मा दिइएको थियो । अख्तियारी नहुँदा कम्पनीलाई कारबाही गर्न नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले बताउनुभयो । 'पुलको डिजाइन एक र निर्माणस्थलको लोकेसन अर्को हुँदा पुल निर्माणमा समस्या भयो' उहाँले भन्नुभयो, 'परामर्शदाता कम्पनीले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ, तर यहाँ २५ मिटरभन्दा बढी पुल बनाउने ठाउँ छैन ।'

छ वर्षअघि निर्माण कम्पनीले साइट हेर्ने क्रममा गलत डिजाइन भएको पत्ता लागेको थियो । सडक विभागले त्यस डिजाइन रद्द गरी नयाँ डिजाइन ठेकेदार कम्पनीलाई दिएको छ । 'नयाँ डिजाइन स्वीकृत भए पनि पुरानो दर रेटअनुसार पुल निर्माण गर्न नसक्ने भन्दै ठेकेदारले काम अघि बढाएको छैन' डिभिजन प्रमुख भट्टले भन्नुभयो, 'अब वर्षा सकिएलगत्तै काम अघि नबढाए ठेकेदार कम्पनीको ठेक्का तोडेर नयाँ बोलपत्र आह्वान गरिनेछ ।'

नयाँ डिजाइनअनुसार करिब तीन करोड रुपैयाँ लगानीमा २५ मिटरको पुल बन्ने उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया