सबै वडा, एकै बजेट : उस्तै भवन

 मंसिर २९, २०७७ सोमबार १३:३७:४३ | रासस
unn.prixa.net

खाेटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले  हरेक वडामा एकै किसिमका वडा कार्यालय भवन निर्माण सुरुवात गरेको छ ।

अहिलेसम्म साविकको गाविसको पुरानो भवनबाट वडा कार्यालय सञ्चालन हुँदैआएको थियो । ती वडा कार्यालयलाई पक्की भवनमा सार्ने लक्ष्यका साथ नगरपालिकाले १५ वडामध्ये ११ मा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण अभियान सुरु गरेको हो । 

वडा नं १३ नूनथलाको वडा कार्यालयको भवन शुक्रबार र वडा नं १२ जालपाको नवनिर्मित वडा कार्यालय भवन शनिबार हस्तान्तरण गरिएको छ । निर्माण कम्पनीले सम्पूर्ण काम सम्पन्न गरेपछि नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले ती वडा कार्यालय भवन उद्घाटन गर्नुभएको छ । 

करिब १००  जना अट्ने सभाकक्ष तथा वडाध्यक्ष, वडा सचिव र वडा कार्यसमितिका सदस्य बस्ने चारकोठे भवन निर्माण गरिएको छ ।  निर्माण कम्पनीले नगरपालिकालाई भवन हस्तान्तरण गरेलगत्तै वडा कार्यालयलाई हस्तान्तरण गरिएका छन् । नाछिरिङ कन्स्ट्रक्शनले आउँदाे पुस मसान्तसम्ममा पूरा गर्नुपर्ने भवन समय अगावै पूरा गरेको जालपाका वडाध्यक्ष विकास राईले जानकारी दिनुभयो ।

पाँच वर्षे आवधिक योजनामा उल्लेख भएको लक्ष्यअनुसार हरेक वडाको आफ्नै पक्की भवन निर्माणको काम अघि बढाइएको थियो । पक्की भवन निर्माण भएपछि वडा कार्यालयको सेवा प्रवाहमासमेत सहज भएको बताइएको छ।

नगरपालिकाका बाँकी नौ वडामा पनि वडा कार्यालय भवन निर्माण धमाधम भइरहेको नगरप्रमुख रिजालले जानकारी दिनुभयो ।  तीमध्ये वडा नं १ दिक्तेल र वडा नं ४ खाल्लेको भवन निर्माणको काम भने अन्यको तुलनामा सुस्त देखिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका अनुसार आउँदाे पुस मसान्तसम्ममा सबै वडाको कार्यालय भवन निर्माण पूरा गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता छ । सुविधा सम्पन्न र व्यवस्थित भवन नभएका वडामा भवन निर्माणका लागि नगरपालिकाले प्रतिवडा रु ६५ लाखका दरले बजेट विनियोजन गरेको थियो । 

कतिपय भवन त्यसभन्दा कम बजेटमा निर्माण भइरहेको जनाइएको छ । जालपाको भवन ४७ लाख रुपैयाँमै बनेको वडाध्यक्ष राईले बताउनुभयो । वडा नं  ३ बाम्राङ, वडा नं ५ लफ्याङ, वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा भने पहिल्यै सुविधा सम्पन्नका भइ सञ्चालनमा छन् ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया