चार घण्टा बाढीमा बगेर बाँचेकी सानुमायाको समाजसेवी बन्ने सपना

 साउन ३०, २०७५ बुधवार ११:१४:१८ | सुमन पुरी
unn.prixa.net

सुनसरी – इटहरी उपमहानगरपालिका वडा नम्बर ३ को गैरीगाँउ । बुढीखोला किनारमा रहेको  सुकुम्बासी बस्ती । त्यही बस्तीमा रहेको गैरीगाँउ टोल विकास संस्थाको भवनसँगै जोडिएको घरमा बस्नुहुन्छ, सानुमाया राई । 

अघिल्लो वर्ष साउन २७ गते राती सानुमायाका भिनाजु रामकुमार (राजकुमार) राई, दिदी आशा राई र भदा निमेष राईलाई बुढी खोलाले बगायो । बस्ती नै ढाकेर मध्यरातमा आएको बाढीले सानुमायालाई पनि बगायो । तर ६ घण्टा बाढीमा बग्दा पनि बुढीखोलाले सानुमायाको प्राणपखेरु लान सकेन । 

इटहरीको गैरीगाँउबाट बग्दै बग्दै सुनसरीको दुहवीसम्म १० किलोमिटर पुगेपछि उहाँलाई बिरु ऋषिदेव, अनिल ऋषिदेव र दिपेन ऋषिदेवले उद्धार गरे ।  साउन २८ गतेलाई आप्mनो दोस्रा जन्म भएको बताउने सानुमायालाई बाढी गएकै दिन भेट्न पुग्दा उहाँको ज्यानमा तागत त थिएन, तर जोश र उमङग भने बेग्लै थियो । 

बाढीले ठाउँठाउँमा बजारेकाले टाउको दुख्ने र रिंगटा लाग्ने समस्या भैरहन्छ ‘धेरैपटक डाक्टरलाई देखाएँ’, ‘डाक्टरले नै यो पछिसम्म भइरहन्छ भनेकाले मैले धेरै खर्च गरेको छैन ।’ 

‘खोकी लागी रहन्छ, फोक्सोमा पानी पसेका कारण इन्फेक्सन भएकाले समस्या भइरहन्छ’ उहाँले भन्नुभयो । उहाँको टाउकोमा पनि समस्या छ । बाढीले ठाउँठाउँमा बजारेकाले टाउको दुख्ने र रिंगटा लाग्ने समस्या भएको उहाँले बताउनु भयो । ‘धेरैपटक डाक्टरलाई देखाएँ’ उहाँले भन्नुभयो, ‘डाक्टरले नै यो पछिसम्म भइरहन्छ भनेकाले मैले धेरै खर्च गरेको छैन ।’ 

बीएड तेस्रो वर्षकी विद्यार्थी सानुमाया अघिल्लो साल साउन २७ गते दिदी भिनाजुको घरमा जानु भएको थियो । त्यही रात इटहरीमा बाढी आयो र गैरीटोल नै बगायो । एकसय २७ भन्दा बढी घर रहेको गैरीटोलमा मात्रै बाढीले सात जनाको ज्यान गयो । बाढीले सानुमायाका दिदी, भिनाजु र भदालाई पनि लाग्यो । भिनाजु राजकुमार र भदा निमेषको लास समेत भेटिएन । 

बाढी गएको एक वर्ष बित्यो, तर सानुमाया भने अझै बाढीकै त्रासमा हुनहुन्छ । सपनामा सधैँ त्यही रात देख्नुहुन्छ । घरमा खोला पसेको, भिनाजुले ढोका ठेलेको र दिदी चिच्याउँदै भाग्न खोजेको । उहाँले भन्नुभयो, ‘सपनामा  दिदी भन्दै चिच्याउँदै ब्युँझन्छु, तर मेरो आवाज सुन्ने कोही हुन्न ।’ 

समाज सेवाको रहर 

क्याम्पसमा पढ्न जाँदा उहाँलाई शिक्षिका बन्ने रहर थियो । त्यही रहरले उहाँले पढाउन थाल्नु भयो । अनि पढाइ पनि त्यही विषयको गर्नु भयो । अर्थात शिक्षाशास्त्र संकाय । तर बाढीमा चार घण्टा बगेर ज्यान बचेपछि उहाँको लक्ष्य फेरियो । 

‘मलाई समाज सेवा गर्ने इच्छा छ’ उहाँले भन्नुभयो, ‘अप्ठ्यारो परेका बेला मलाई सहयोग गरेका कारण समाजसेवीहरुप्रति मेरो नमन छ ।’ सानुमायाका दिदी, भिनाजु र भदा बगेसँगै उहाँ बस्ने घर थिएन । बुवा, आमा नभएका कारण उहाँको आश्रय दिदी भिनाजु नै हुनुहुन्थ्यो । अहिले समाजसेवीहरुले उहाँको घर बनाइदिएका छन् । 

तीन लाख रुपैयाँ भन्दा बढि चन्दा सहयोग सानुमायालाई उठेको छ । त्यही पैसाले उहाँले औषधी उपचार गरिरहनु भएको छ भने पढाइ खर्च पनि त्यही सहयोगबाट जुटिरहेको छ । ‘सहयोगी नभएको भए म अहिलेको अवस्थामा आउने नै थिइनँ, अरुले गरेको सहयोगका कारण त्यो गुन तिर्ने रहर छ’ उहाँले भन्नुभयो, ‘दिदी भिनाजुलाई बचाउन नसकेपनि उहाँहरुको नाममा केही गर्ने रहर छ ।’

उहाँलाई विभिन्न सामाजिक संघ संस्थाहरुले साहासी महिला भनेर समेत सम्मान र पुरस्कार प्रदान गरेका छन् ।

बस्ती फेरियो, समस्या फेरिएन 

बाढी गएको एक वर्षमा गैरीगाउँ धेरै फेरिएको छ । एक महिना शिविरमा बसेर फर्किएपछि बाढी पीडितले घर मर्मत गरेका छन् । बगेको सडकमा फेरि माटो पुरिएको छ । छानो भत्किएका घरहरुमा छानो हालिएको छ । बालुवाले पुरेको करेसाबारीमा तरकारी लहलह फल्न थालेका छन् । तर मनमा भने अहिले पनि त्यही बाढीको डर छ ।

बुढी खोलाको सतहभन्दा ५ फिट मात्रै अग्लो स्थानमा बस्ती छ । हरेक पटक बुढी खोलामा पानी बढ्नासाथ सबैका मनमा त्रास उत्पन्न भइरहन्छ ।

स्थानीय राजकुमार भुजेल भन्नुहुन्छ, ‘हामी सिलिङमा सामान राखेर सुत्छौं । पानी परेको रात पालो गरेर सुत्छौं ।’ सरकारले बस्ने व्यबस्था र तटबन्ध नगरिदिएका कारण त्रासै त्रासमा बस्नु परेको स्थानीय कमल राईकोको गुनासो छ ।

‘हामी पनि मानिस हौं, रहर भएर यो खोला किनारमा बसेका होइनौं, टाउको लुकाउने ठाउँ नपाएकै कारण खोला किनारमा जिन्दगी बिताउन आएका हौं । हामीले नगरपालिकामा पटक पटक भनेका छौं’ उहाँले भन्नुभयो । 
 

अन्तिम अपडेट: भदौ २३, २०७५

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। उहाँलाई फेसबुकमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया