कालीगण्डकी करिडोर अन्तर्गत दाना-खुर्कोट प्रसारण लाइन निर्माणकाे काम सम्पन्न

 पुष १९, २०७७ आइतबार ८:३४:२६ | रासस
unn.prixa.net

काठमाण्डाै - म्याग्दीमा कालीगण्डकी करिडोर अन्तर्गत २२० केभी क्षमताको दाना-खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माणकाे काम सकिएको छ ।

म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सकिएको छ । आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुँयालले दाना र खुर्कोटमा सबस्टेशनका साथै प्रसारण लाइनको पूर्वाधार निर्माण र उपकरण जडानको काम सकिएको बताउनुभयो ।

'टावर ठड्याउने, तार तान्ने र सबस्टेशनको उपकरण जडान सकेर आन्तरिक परीक्षण सुरु गरेका छौँ', उहाँले भन्नुभयो, 'सबस्टेशन चार्ज र परीक्षणको तयारीका लागि कार्यतालिका बनाउँदैछौँ ।' करिब १५ दिनभित्र सबस्टेशन र प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी छ ।

एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन् २०१६ देखि सुरु गरेको यो आयोजना लक्ष्यभन्दा दुई वर्ष ढिला सकिएको हो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

आयोजना निर्माणमा तीन अर्ब रुपैयाँ खर्च भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न सबस्टेशन र प्रसारण लाइन निर्माण गरिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताउनुभयो ।

'यो सबस्टेशन र प्रसारण लाइन कालीगण्डकी करिडोरको विद्युत् विकासको आधार हो', उहाँले भन्नुभयो, 'सबस्टेशन र प्रसारण लाइन कुरेर बसेका धेरै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाउनेछन् ।' जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, बाढी र पहिरोका कारण आयोजना निर्माण प्रभावित भएको हो । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले लामो समयको प्रयासपछि पोखरेबगरको विवाद समाधान गरेर आयोजना निर्माण गर्ने वातावरण बनाएको बताउनुभयो । पोखरेबगरका जग्गाधनीसँगको विवादले त्यहाँ छ टावर बनाउन दुई वर्षसम्म प्रयास गर्नुपरेको थियो ।

आयोजना निर्माणसँगै ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय लाइनमा जोडिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

थापाखोला र घलेम्दी यसअघि नै निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुनसकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रिखोला जलविद्युत् आयोजनाले संरचनाको परीक्षण सुरु गरेको छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया