आइतबारदेखि चरा गणना गरिने

 पुष २४, २०७७ शुक्रबार १३:३८:२ | रासस
unn.prixa.net

चितवन - चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पर्सि आइतबारदेखि चरा गणना गरिने भएको छ ।

चरा गणनाको नेतृत्व गरेको बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष बासु बिडारीकाअनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने छ ।

चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदै छ । कसरादेखि लोथरसम्म एउटा क्षेत्र हुनेछ । लोथरदेखि जिन्दगानी घाटसम्म, जिन्दगानी घाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म तीन भाग बनाएर डुङ्गाबाट गणना गरिने छ । निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिँदै छ ।

बिसहजारी तालभित्रका बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिने उहाँले जानकारी दिनुभयो । बूढी राप्ती, ढुङ्ग्रे खोला, भण्डाको मत्स्यपालन केन्द्रमा पनि गणना गरिने छ । नारायणी नदीतर्फ सिर्खाैलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना हुने सङ्घले जनाएको छ ।

यस वर्ष पहिलोपटक विस्तृत रुपमा रिउ खोलामा पनि चरा गणना गरिँदै छ । जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा तीन वटा समूह बनाएर गणना गरिँदै छ । गणनामा पचास जनाभन्दा धेरै गणक सहभागी हुने बिडारीको भनाइ छ । छ दिनभित्र गणना सम्पन्न गर्ने तयारी गरिएको छ । 

गएको वर्ष  चितवनमा ६४१ प्रजातिका चरा भेटिएको थियो । तीमध्ये ५७ जल प्रजातिका थिए । देशभरमा यो सङ्ख्या ८८७ रहेको छ । चरा गणनाका लागि सौराहा क्षेत्रका विभिन्न सङ्घ संस्थासँग सहयोग जुटाइएको छ । उहाँकाअनुसार  एक लाख ८० हजार हाराहारी गणनामा खर्च गरिँदै छ । 

डुङ्गा, जीप र खानपानमा खर्च हुने गर्दछ । गणनामा क्यामेरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरिन्छ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गरिन्छ ।यो समय टाढा टाढाबाट जाडो छल्न यहाँ चरा आउने गर्दछन् । बिडारीकाअनुसार साइबेरीया, अष्ट्रेलियालगायतका देश र ठाउँबाट उत्तरी सीमा हुँदै नेपालमा चरा आउने गर्दछन् । गर्मी लागेसँगै ती चरा फर्कने गर्दछन् ।

 नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना हुन्छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया