वाग्मती सफाइ महाअभियान शनिबारदेखि ४००औं हप्तामा

 पुष २४, २०७७ शनिबार ५:१६:१ | रासस
unn.prixa.net

काठमाण्डौ - सफाइ जागरणको प्रेरणाको स्रोत बन्न सफल वाग्मती सफाइ महाअभियान शनिबारदेखि ४०० औं हप्तामा प्रवेश गरेकाे छ।

विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको अग्रसरतामा यस अभियान सुरुआत भएको थियो । 

सुरु भएदेखि आजसम्म प्रत्येक हप्ताको शनिबार बिहान ०७ बजेदेखि ९ बजेसम्म ‘दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मीले नदीमा सफा गर्दै आएका छन् । 

यसबीचमा चिसो, गर्मी, भूकम्पको त्रास, कोरोना महामारी, चाडपर्वजस्ता दिन पनि महाअभियान रोकिएको छैन ।

सफाइबाट अहिलेसम्म २० हजार मेट्रिकटन फोहाेर नदीबाट निकाली व्यवस्थापन गरिएको छ । काठमाण्डौ महानगरपालिकालगायत पालिकाले फोहाेर व्यवस्थापन गर्ने गरेका छन् ।

फोहाेर व्यवस्थापन गर्ने क्रममा गाडीमा राख्दा नाप गरिएका आधारमा २० हजार मेट्रिकटन फोहाेर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । 

सफाइ महाअभियानमा १० लाख स्वयंसेवीले काम गरेका छन् । वाग्मती सफाइ महाअभियानको उत्प्रेरणाले उपत्यकामा रुद्रमती, विष्णुमती, इक्षुमती, मनोहरा, हनुमन्ते, कोड्कु, गोदावरी, बल्खुखोला, गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागलगायत ठाउँमा सफाइ अभियान चलेको छ ।  

यसैगरी उपत्यका बाहिर पनौती, जनकपुर, सिराहा, लाहान, झापा, पोखरा, बुटवल, तिनाउ, दाङलगायत गरी देशभर १०६ भन्दा बढी स्थानमा सफाइ अभियान भइरहेको छ । महाअभियान सुरु भएपछि यी सबै ठाउँमा सफाइ अभियान सुरु गर्ने प्रेरणा मिलेको हो । 

अभियानले फोहोरको स्रोतमै वर्गीकरण गर्न, कुहिने फोहोरबाट बायो कम्पोष्ट मल र बायोग्याँस उत्पादन गर्न सहजीकरण गरेको छ । कुहिने फोहोरलाई मल बनाएर कौशी खेती गर्न पनि अधिकार सम्पन्न वाग्मतीले उपत्यकावासीलाई प्रोत्साहन गरिरहेको छ ।

अहिलेसम्म सामुदायिक संस्थाको सहयोगमा करिब पाँच हजार कम्पोष्ट विन कौशी खेतीलाई प्रोत्साहन गर्न वितरण गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सूचना अधिकारी कमल अर्यालले बताउनुभयो । उपत्यका बाहिर पनि फोहोरको स्रोतमै वर्गीकरणलगायत विधि अपनाउन सुरु भएको छ ।

शनिबार वाग्मतीको मुहान क्षेत्र सुन्दरीजल र मध्यभाग मीनभवनमा विशेष कार्यक्रम आयोजना गरिँदै छ ।

सात ठाउँमा जनचेतनामूलक अभियान

यस अवसरमा ‘स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ नारा तय गरी विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो । विशेष कार्यक्रमअघि काठमाण्डाै साँगा भञ्ज्याङ, नागढुंगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवन गरी सात ठाउँमा जनचेतनामूलक अभियानसहित सफाइसम्बन्धी पर्चा वितरण र पम्प्लेट टाँसिने छ ।

यसका लागि सातै ठाउँमा सफाइ अभियानकर्मीको नेतृत्वमा समूह परिचालन गरिएको छ । अभियानकर्मी क्रमश : नरेश रञ्जित, ताराबहादुर कुँवर, लोकबहादुर टण्डन, रामकुमार श्रेष्ठ, चित्रबहादुर सुनुवार र शोभाकान्त पाण्डेलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । ती ठाउँमा चल्ने सार्वजनिक र निजी यातायातमा समेत चेतनामूलक पम्प्लेट टाँस गरिने जनाइएको छ ।

वाग्मती सफाइ महाअभियान विश्वकै लामो अभियान भएको दावीसमेत गरिएको छ । यसैकारण महाअभियानले अन्तरराष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको छ । वाग्मती सफाइ महाअभियान सुरु भएपछि सोचेजस्तो सफाइ नभएको टिप्पणीसमेत हुने गरेको छ । सोचेजति सफाइ नभए पनि सफाइ जागरणमा महाअभियानले महत्त्वपूर्ण योगदान गरेको छ । नदी, सम्पदा र सार्वजनिकस्थल सफाइमा जनसहभागिता जुटाउन पनि महाअभियानले प्रेरणा दिएको छ ।

महाअभियानले मृतप्राय वाग्मती र यसका सहायक नदीलाई पुनःजीवन दिएको अभियानकर्मी पौडेल बताउनुहुन्छ । महाअभियानको मूल उद्देश्य विशुद्ध स्वयंसेवी भावना र स्वाभिमानको विकास गराउने रहेको छ । 

हामी हाम्रो काम आफैँ गर्न सक्छौँ भन्ने भावनाका साथ राष्ट्र निर्माणमा निःस्वार्थ समर्पण हुने युवा जनशक्तिको विकास गर्न पनि महाअभियानले सहयोग गरेको छ । यसलाई सभ्य समाज निर्माण र राष्ट्रिय स्वाभिमानको महाअभियानका रुपमा लिइएको छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया