आज गोरखाका पाँच पालिकामा सार्वजनिक बिदा

 पुष २७, २०७७ सोमबार १०:४६:२२ | रासस
unn.prixa.net

गोरखा - गोरखा दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । 

पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा एक दिन सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ । सार्वजनिक बिदाका दिन ती पालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालयलगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाइएको छ । 

गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यवतीका जेठा छोराका रूपमा विसं १७७१ पुस २७ गते जन्मनुभएका पृथ्वीनारायण शाहले टुक्रिएर रहेका बाइसे चौबिसे राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको इतिहासमा उल्लेख छ ।

पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आजै गोरखा नगरपालिकाको आयोजना तथा गोरखा युथ क्लबको संयोजनमा द्रव्यशाह चौतारा हुँदै ठूलो आँगन, अस्पताल चोक, हरमटारी, पुरानो बसपार्क हुँदै गोरखा दरबारसम्म खुल्ला दौड प्रतियोगिताको आयोजना गरिएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्तले जानकारी दिनुभयो ।

त्यस्तै आजै सदरमुकामको खेलकुद मैदानदेखि हरमटारी हुँदै गोरखा सङ्ग्रहालयसम्म विभिन्न जातजातिको झाँकी प्रस्तुत प्रदर्शन गरिने, पत्रकार महासङ्घ गोरखाको आयोजनामा पृथ्वीनारायण शाहको शालिक परिसरमा दीप प्रज्वलन, राप्रपा गोरखाको आयोजनामा पृथ्वी जयन्ती समारोहको आयोजना गरिएको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया