ऊर्जामन्त्रीद्वारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

 पुष २७, २०७७ सोमबार १३:१५:५९ | रासस
unn.prixa.net

काठमाण्डाै - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा रहेकाे निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । 

यस अवसरमा तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक प्रदीप थिके र आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाको अहिलेसम्मको प्रगति र गतिविधिबारे मन्त्री रायमाझीलाई जानकारी गराउनुभयो । आयोजनाको प्याकेज-२ अन्तर्गत सिनो हाइड्रो कम्पनीले निर्माण गरिरहेको विद्युतगृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याक जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारीे छ । 

आयोजना प्रमुख घिमिरेकाअनुसार प्याकेज-२अन्तर्गत सिनोले क्याम्प, ब्याचिङ तथा क्रसिङ प्लाण्ट, ल्याब, क्लिनिक, स्टोर, उपकरणकक्ष आदि पूर्वाधारको स्थापना, केबल सुरुङ, विद्युतगृहको पाइलट सुरुङ, पहुँच सडक खन्ने कार्य सम्पन्न गरेको छ । 

प्याकेज-३ अन्तर्गत प्रशारण लाइन निर्माणका काम बारेमासमेत मन्त्री रायमाझीलाई जानकारी गराइएको छ । केईसी इन्टरनेशनलले प्रशारण लाइन निर्माणका लागि काम गरिरहेको छ । त्यस्तै प्याकेज एक निर्माणका लागि नियुक्त ठेकेदारसँगको ठेक्का रद्द गरी पुनः दुई पटक बोलपत्र आह्वान गर्नु परेकाले निर्माणमा ढिलाइ भएको बताइएको छ । 

निरीक्षणका क्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ तथा ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्युतगृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुख्खायाममा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन हुनेछ । 

आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि १८४ मिलियन डलर रुपैयाँ बेहोर्ने छ ।
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया