पानी पार्ने प्रणाली भित्रिदैँ : सुदूरपश्चिम र कर्णालीका थोरै ...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - थोरै मात्रै ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोरमा धमाधम कालोपत्रेकाे काम अघि बढाइएकाे छ । सडकका विभिन्न खण्डमा कतै वैदेशिक सहयोगमा त कतै नेपाल सरकारको बजेटबाट कालोपत्रे अघि बढाइएको छ ।
दक्षिणमा चितवनकाे गैँडाकोटबाट उत्तर कोरोलासम्म जोड्ने उत्तर-दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरमा पहिले खुलिसकेका ठाउँमा कालोपत्रे अघि बढाइएको उत्तर-दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयले जनाएको छ ।
चार सय १७ किमी लम्बाइको यो करिडोरमा अहिले गैँडाकोटबाट राम्दीसम्म १३२ किमी सडक एक्जिम बैंकको ऋण सहयोगमा निर्माण अघि बढाइएको छ । पुरै करिडोरमा गरी १०० किमीबाहेक अरु सडक कालोपत्रे गर्न लागिएको निर्देशनालय प्रमुख शिवप्रसाद नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, 'कतिपय सडक निर्माण भइरहेका छन् भने कतिपय कालोपत्रेका लागि ठेक्का प्रक्रियामा छन् ।'
गैँडाकोटबाट राम्दीसम्मको सडकमा चालु आवमा ३१ किमी ग्राभेल र त्यसमध्ये १० किमी सडक कालोपत्रे भएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । गएकाे वर्ष पुसमा सडक निर्माणका लागि भारतीय कम्पनीलाई जिम्मेवारी दिइएको थियो ।
राम्दीबाट कोरोलासम्म नेपाल सरकारको लगानीमा निर्माण भइरहेको निर्देशनालयका प्रमुख नेपालले बताउनुभयो । यो खण्डमा चालु आवमा छ किमीसमेत गरी अहिलेसम्म २१ किमी ग्राभेल भएको छ । राम्दीबाट रिडीसम्म ३० किमी सडक कालोपत्रेका लागि बहुवर्षीय सहमति मागिएको छ ।
करिडोरमा अझैसम्म ४५० मिटर सडकको ट्रयाक खुलिसकेको छैन र सो सडक यही खण्डमा पर्छ । कालोपत्रेको प्रक्रिया अघि बढ्दासम्म ट्रयाक खुलिसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'सेनाले ट्रयाक खोलिरहेकाले केही समयभित्रै खुलिसक्ने अपेक्षा गरिएको छ ।'
करिडोरको पहिलो खण्डमा गैँडाकोटबाट राम्दी, दोस्रोमा राम्दीबाट रिडी र तेस्रो खण्डमा रिडीबाट हर्मीचौरसम्मको सडक पर्छ । रिडीबाट हर्मीचौरसम्म १७ किमी सडक कालोपत्रेका लागि ठेक्का भइसकेको छ । हर्मीचौरबाट मालढुङ्गासम्म ४९ किमी सडकमा नेपाली सेनाले विस्तारको काम गरिरहको छ । यो खण्डका केही भाग गुल्मी र केही बाग्लुङ जिल्लामा पर्छ । उहाँले भन्नुभयो, 'सेनाले हस्तान्तरण गरेपछि यो खण्डमा पनि कालोपत्रेका लागि प्रक्रिया अघि बढाइनेछ ।'
मालढुङ्गाबाट कोरोलासम्म नै सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकको छ । मालढुङ्गाबाट बेनी र बेनीबाट जोमसोमसम्म सडक कालोपत्रे गर्ने आयोजनाले जनाएको छ ।
मालढुङ्गाबाट बेनीसम्म १३ किमी ठेक्का प्रक्रिया अघि बढाइएको प्रमुख नेपालले जानकारी दिनुभयो । यस खण्डमा कालोपत्रेका लागि सूचना निकाली सकेर ठेक्का मूल्याङ्कनको क्रममा छ । एक/दुई महिनामै सडक कालोपत्रेको काम अघि बढ्ने उहाँको भनाइ छ ।
बेनीबाट जोमसोमसम्म सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकेको निर्देशनालयले जनाएको छ । त्याे सडकको लम्बाइ ७६ किमी छ । जोमसोमबाट कागबेनीसम्म ११ किमी सडक कालोपत्रेका लागि बहुवर्षीय ठेक्का भएको थियो ।
कागबेनीबाट मुक्तिनाथसम्म अरु निकायले नै कालोपत्रे गरिसकेको छ । जोमसोमबाट मुक्तिनाथ जाने ठाउँ कागबेनीसम्म कालोपत्रे गर्ने भनी फाइलअघि बढाइएको प्रमुख नेपालले जानकारी दिनुभयो । जोमसोमबाट माथि भने कालोपत्रे गर्न अहिले तत्काल योजना नरहेको आयोजनाले जनाएको छ ।
कागबेनीबाट कोरोलासम्मको सडक चालु आवमा कालोपत्रे गर्ने योजना छैन । गाडीको चाप कम भएको र ग्राभेल सडकसमेत अहिलेका लागि काम गर्ने उहाँले बताउनुभयो । याे ठाउँमा चार महिना हिउँ परेका कारण यातायात चल्दैन । उहाँले भन्नुभयो, 'अझै पनि १०० किमी सडक कालोपत्रेको प्रक्रियामा नगएकाले त्यहाँलाई प्राथमिकता नदिइएको हो ।'
करिडोर दुई लेनको हुने बताइएको छ । यसको चौडाइ छ मिटरदेखि नौ मिटरसम्म छ । अधिकांश ठाउँमा साढे सात मिटर चौडाइ भए पनि कतैकतै धेरै चट्टान क्षेत्रमा चौडाइ पूरा गर्न नसकेर छ मिटर मात्रै चौडाइ कायम गरिएको प्रमुख नेपालले बताउनुभयो । कतैकतै सडक नौ मिटरसम्म चौडा छ ।
उहाँले भन्नुभयो, 'पहिले ट्रयाक खुलिसकेका ठाउँमा सेनाले अहिले पनि विस्तार गरिरहेको छ ।' देशका अधिकांश ठाउँको सडकजस्तै यो करिडोरमा पनि अधिकार क्षेत्रको विवाद छ । बस्ती क्षेत्रमा बढी समस्या रहेको प्रमुख नेपालले बताउनुभयो ।
अहिलेसम्म आयोजनाले घर टहराको मुआब्जा दिए पनि जग्गाको मुआब्जा दिएको छैन । काम गरिरहेको भए पनि वातावरण सहज नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'आएका विवाद समाधान गर्दै काम अघि बढाइएको छ ।'
कोशी र कणाली करिडोरभन्दा यो करिडोरमा ट्रयाक चाँडो खुलिसक्ने देखिएको छ । यी दुई करिडोरमा चट्टान नै चट्टान भएका ठाउँमा समेत विभागले नै काम गरिरहेकाले ढिलाइ भएको प्रमुख नेपालले बताउनुभयो । कालीगण्डकी करिडोरमा भने यी ठाउँमा सेनाले नै ट्रयाक खोलिरहेका छन् ।
उहाँले भन्नुभयो, 'हामीले काम गरे पनि विस्फोटक पदार्थ सेनाले ल्याएर काम गर्ने हुँदा ढिला हुन्छ, सेनाले नै गर्दा काम छिटो हुने गर्छ ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।