पानी पार्ने प्रणाली भित्रिदैँ : सुदूरपश्चिम र कर्णालीका थोरै ...
पुस २७, २०८१ शनिबार
बागलुङ – नेपालमा मजदुरको व्यथा सुनिसाध्य छैन । महिनौँ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदुरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तनहुँको दमौलीमा भवन निर्माणको काम गरेका पर्वत र बागलुङका मजदुर ठेकेदार भागेपछि भोकभोकै पाँच दिन हिँडेर घर फर्किएका छन् ।
पर्वतका आठ मजदुर र बागलुङ, बडिगाड गाउँपालिका १ जिमीका ३८ वर्षीय नुनबहादुर श्रीस दमौलीबाटै पैदल हिँडेर गृह जिल्ला आइपुगेका छन् । एक महिना १९ दिन लगाएर ठेक्कामार्फतको प्रहरी चौकी भवन निर्माणमा काम गरेका उनीहरू ठेकेदार भागेपछि अलपत्र परेका थिए । मङ्गलवार साँझ घरबेटीले आफूहरू बस्ने कोठामा ताल्चा लगाएपछि हिँडेर पर्वतका आठ साथी नयाँ पुलसम्म र आफू बागलुङसम्मै एक्लै हिँडेर आएको मिस्त्री श्रीसले बताउनुभयो । रामेछापका निर्माण व्यवसायी दिलीप राईले उनीहरूलाई काममा लगाएको प्रकाश बताउनुहुन्छ ।
पाँच दिन हिँडेर बागलुङ आएका श्रमिक । तस्बिर : रासस
काम सकेर रकम बुझ्ने बेलामा निर्माण व्यवसायी भागेकाले समस्यामा परेको उहाँको गुनासो छ । ‘ठेकेदारले खाना बस्नसहित दैनिक एक हजार रुपैयाँ ज्याला दिने सहमतिमा एक महिना १९ दिन काम गरियो’, प्रकाशले भक्कानिँदै दुःख सम्झँदै भन्नुभयो, ‘हामी त सोझो मान्छे, पैसा देला भन्ने भयो, एक्कासी घरबेटीले ठेकेदार भागेको भन्दै कोठामा चाबी लगाए, गोजीमा एक रुपैयाँ दाम नभएका कारण भोकै हिँड्नुको विकल्प भएन ।’ दमौली बजारको अस्थायी प्रहरी चौकी भवन निर्माण गरि नजिकै ठेकेदारले दिएको कोठामा बस्दै आएका नौ मजदुर एक साथ पाँच दिन लगाएर घर फर्केका हुन् ।
दमौलीबाट प्रहरीले पोखरा आउने गाडीमा चढाइदिए पनि केही यता आएपछि भाडा मागेर पैसा नभएपछि बीच बाटामै झारिदिएको उहाँको गुनासो छ । श्रीसले गाउँमै मजदुरीको काम गर्दै आए पनि दिनको एक हजार रुपैयाँ पाइने लोभले ठेकेदारका सम्पर्कमा आएर दमौली पुगेको बताउनुभयो । लगातार पाँच दिन कालोपत्रे सडकमा पैदल हिँड्दा प्रकाशका पैताला फुटेका छन् । ‘पोखरामा पानी माग्दासमेत कसैले दिएनन्, बाटामा फालेको चाउचाउको सुप पानीमा घोलेर खाँदै हिँड्यौँ’, माघको जाडोमा प्रतीक्षालयमा सुत्दै बागलुङ आइयो’, उहाँले भन्नुभयो । बागलुङ आएपछि शुक्रबारको रात बागलुङको बाङ्गेचौर–पर्वत पाङ जोड्ने लामो पुलमुनि रात कटाएको उहाँ बताउनुहुन्छ ।
ठेकेदार राईले दिएको सम्पर्क नम्बरमा फोन लाग्दैन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) युवराज तिमिल्सिनाले आफूलाई कुनै जानकारी नभएकाले यस विषयमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले बागलुङमा धेरै प्रहरी बिट तथा चौकी निर्माणका चरणमा रहेकाले कुन भन्ने पत्ता लगाउनुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय तनहुँमा ठेकेदार भागेर मजदुरलाई अलपत्र पारेको कुनै गुनासो उजुरी नआएको उहाँको जिकिर छ । यद्यपि दमौलीमा दुई ठाउँमा प्रहरी भवन बन्दै आएको र अहिले कामदार तथा ठेकेदार दुवै नभएकाले ठेकेदार सम्पर्कमा आउनासाथ जानकारी लिइने उहाँले बताउनुभयो ।
दमौलीको शेरामा रहेको खैरेनी प्रतीक्षालयमा पहिलो दिन, पोखराको गगनगौँडामा दोस्रो रात, घट्टेखोलामा तेस्रो रात र बागलुङ जिल्लाको प्रवेशद्वार शहीदपार्कमा चौथो रात कटाएर बागलुङ बजार आएको श्रीसले बताउनुभयो । बिहान पानी माग्दै हिँडेपछि सोधखोज गर्ने क्रममा समस्याका बारेमा जानकारी भएको नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीषले बताउनुभयो । ‘खर्बाङ पुग्न हिँडेर कति समय लाग्छ भनेर सोध्नुभो, अनि अहिले त गाडी चलेकै छ, किन सोध्नू भो भनेर चासो राखेपछि मजदुरको दुर्दान्त कथाको भित्री पाटो खुल्यो’, शिरीषले भन्नुभयो, ‘त्यसपछि खुट्टा फुटेका छन्, सुन्निएको छ, हिँडेरै खर्बाङ पुग्ने अवस्था नभएपछि खाजा, खाना र यातायात खर्च व्यवस्था गरेर घर पठाएका छौँ ।’ पैसा नभएको बैंकको चेक दिएको र मजदुरलाई दिएको सास्तीबारे थप खोजी र पहल गरिएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।