आफैँ हट्दै गयो ‘लम्पी स्किन’ रोग

 माघ २३, २०७७ शुक्रबार १३:७:४७ | रासस
unn.prixa.net

काठमाण्डाै - केही महीनाअघि पशुमा देखा परेको ‘लम्पी स्किन’ रोग पछिल्लो समय आफैँ नियन्त्रणमा आउन थालेको छ । गएको असारदेखि देखापरेको यो रोग पछिल्ला दिनमा कतै पनि देखा परेको छैन । 

रोग देखा परेपछि सरकारी संयन्त्र प्रयोग गरेर किसानलाई जनचेतना जगाइएको थियो । रोग आफैँ नियन्त्रणमा आएको पशुविज्ञ र प्राविधिकको भनाइ छ । रोग लागेपछि गाईवस्तुका शरीरका विभिन्न भागमा सानाठूला गिर्खा देखिने, मुखबाट फिँज निकाल्ने, उच्च ज्वरो, कचेरा र सिँगान बग्नेजस्ता लक्षण देखा पर्छ । रोगले चापेपछि पशुको मृत्युसमेत हुन्छ । 

मृत्यु नभए पनि दूध घट्ने हुन्छ । रोग नियन्त्रणका लागि खोप वा औषधि छैन । त्यसैले विभिन्न उपाय अपनाएर रोग लाग्नै नदिने उपाय रचेर किसानलाई सचेत गराइएको थियो । ​

मलमूत्र व्यवस्थापन गर्ने र झिँगा, लामखुट्टे बस्न नदिने उपायबारे किसानलाई सचेत गराइएको भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ झापाको सम्पर्क कार्यालय इलामका चिकित्सक डा सञ्जय ढुङ्गानाले बताउनुभयो । फोहोर ठाउँमा रोगले बढी आक्रमण गर्ने भएकाले झिँगा, लामखुट्टेबाट सर्ने सम्भावना धेरै हुन्छ । गोठ सरसफाइमा सचेत हुन अनुरोध गरेको उहाँको भनाइ छ । जिल्लाका चार पालिकामा रोग देखा परेको थियो । 

किसान बढी सचेत भएकै कारण नियन्त्रणमा आएको डा ढुङ्गानाको भनाइ छ । 'एक किसिमले मौसमी फ्लू पनि हो । व्यवस्थापनमा जोड दिएकाले नियन्त्रणमा सहज भयो' ढुङ्गानाले भन्नुभयो । यो रोग नेपालका तराईका सीमा क्षेत्रका जिल्लामा पहिलो चरणमा देखा पर्याे । 

प्रदेश १ का मोरङ, झापा र सुनसरी प्रदेश २ को रौतहट र वाग्मती प्रदेशका चितवन र मकवानपुरका पशुमा रोग देखा परेको थियो । बिस्तारै अन्य जिल्लामा पनि देखा परेको हो । पशुको किनबेच, ओसारप्रसार र कीटाणु फैलाउने जीवका कारण रोग फैलिएको पशु चिकित्सक डा ढुङ्गानाको भनाइ छ । 

लामो समय सीमाबाट पशु ल्याउन/लान बन्देज गरियो भने रोगी पशुलाई छुट्टै गोठमा राखियो । 'शरीरमा घाउ देखिँदै पोटासले धुने, अरू पशुभन्दा भिन्न ठाउँमा राख्ने गरियो' डा ढुङ्गानाले भन्नुभयो, 'यसले पनि नियन्त्रणमा सहयोग पुग्यो । पशु चिकित्सकलाई पनि किसानका गोठ पुर्याएर सहजीकरणमा सहयोग पुर्याइयो ।'

रोग देखिए पनि निदानको उपचार नहुँदा किसान र चिकित्सक चिन्तित भएका थिए । अझै पनि रोग पूर्णरूपमा हटिसकेको भन्न नसकिने कार्यालयका चिकित्सक डिकबहादुर कार्कीको भनाइ छ । मौसमी फ्लू भएकाले कुनै मौसममा फेरि देखापर्ने सम्भावना हुन्छ । 

किसानले सधैँ यसबाट सचेत भएर पशुपालन गर्नुपर्ने ढुङ्गानाको भनाइ छ । रोग लागेर निको भए पनि पशुबाट फाइदा लिन गाह्राे छ । ८० प्रतिशतसम्म दूधमा ह्रास आउँछ । लैनो गाईमा रोग देखापरेमा किसानले आर्थिक भार बढी पर्छ ।

यो रोग कुन ठाउँबाट सर्न थाल्यो पत्ता छैन तर सीमा क्षेत्रका जिल्लामा देखा परेकाले भारतबाट सरेको आँकलन गरियो । सुरुमा मोरङका पशुमा लम्पी स्किन देखियो । यसै समयमा नेपालमा कोभिड–१९ देखा परेको थियो । 

सरकारले बन्दाबन्दी गरेपछि सीमामा पशु आवातजावतसमेत घट्यो । केही हदसम्म रोग नियन्त्रणमा आएको चिकित्सक डा ढुङ्गानाको भनाइ छ । इलाम पनि भारतको सीमावर्ती जिल्ला हो । बन्दाबन्दीपछि पशु ओसारप्रसार हुन नसक्दा रोग नियन्त्रणमा आएको अनुमान छ । 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया