यसपालि जाडोको मौसम : औसतभन्दा कम छ चिसोको प्रभाव

 माघ २४, २०७७ शनिबार ११:१३:२ | रासस
unn.prixa.net

काठमाण्डाै - देशमा यसपालि जाडोयाममा चिसोको प्रभाव औसतभन्दा कम रहेको छ । गएकाे वर्ष देशका पहाडी क्षेत्रका केही उच्च भेगमा हिमपात भएको थियो तर यसपालि अहिलेसम्म त्यो अवस्था देखिएको छैन । यस वर्षको हिउँदमा वर्षाको अवस्थासमेत अत्यन्त न्यून रहेको मौसमविद्ले बताएका छन् । हिउँ परेर चिसो हुने यस मौसममा देशमा तापक्रम औसतभन्दा बढी नै रहेको जनाइएको छ । 

मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने विवरण सार्वजनिक गरेका थिए । दक्षिण एसियाली जलवायु आँकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा यसैगरी हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ । 

यस अध्ययनले औसतभन्दा बढी तापक्रम (सुक्खा) रहने औंल्याएको थियो । त्यहीअनुसार नै मौसमअघि बढेको देखिन्छ । मुख्यतः समुद्र र वायुमण्डलीय अवस्थाकाे विश्लेषण गरेर निष्कर्ष निकालिने गरिन्छ । विभागकाअनुसार गएकाे वर्ष नेपालको पूर्वीभेगमा औसतभन्दा बढी चिसो भएको थियो भने अन्य क्षेत्रमा औसत अवस्था मै रहेको थियो ।

यद्यपि आजबाट भने पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावका कारण मौसम बद्ली भएसँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने पहाडी भेगका केही क्षेत्रमा हल्का वर्षा भएको छ । तराई क्षेत्रमा भने बाक्लो हुस्सुसहित शीतलहर छ । तर पनि वर्षाको औैसत अवस्था कम नै रहेको मौसमविद्को भनाइ छ । 

मौसमविद् निराजन सापकोटा पश्चिमी वायुका कारण प्रणाली परिवर्तन हुँदा यसपटक आइतवारसम्मै चिसो हुने र त्यसपछि बिस्तारै खुल्ने बताउनुहुन्छ । पश्चिमी वायु पाकिस्तान हुँदै भारतबाट नेपालमा जोडिन आएको हो । यो बिस्तारै पूर्वउत्तर सरेर सकिने छ। 

आज वाग्मतीदेखि सुदूरपश्चिमसम्म बद्ली छ । प्रदेश १ को पहाडी क्षेत्रमा बद्ली छ । आज पश्चिमबाट सफा हुँदै आउने र पूर्वतर्फ बद्ली सर्नेछ । आज पोखराबाट पूर्वसम्म बद्ली रहन्छ । शुक्रबार काठमाण्डौमा तीन बजे आसपास पानी पर्न खोजेको थियो । फाट्टफुट्ट पानी परे पनि एक्कासी आएको हावाले उडाउँदा हिमालतिर सरेको उहाँ बताउनुहुन्छ । हावाले बद्लीलाई हिमाली क्षेत्रमा पठाउनु भनेको त्यसक्षेत्रमा बढी हिउँ पर्नु हो । 

वायु दुई प्रकारको हुन्छ । पूर्वी र पश्चिमी । पूर्वी वायु बङ्गालको खाडीबाट आएको हुन्छ । त्यसले पानी बढी पार्छ । पश्चिमी वायु पाकिस्तानबाट भारत हुँदै नेपाल छिरेको वायु हो । यसपाली यस वायुमा जलवाष्पका कण न्यून रहेकाले वर्षा कम  भएको हो । बढी जलवाष्प रहँदा वर्षा हुने गर्छ । जसले चिसो भित्र्याउँछ । हिमालमा हिउँ पर्नु पनि यही वायुको प्रभाव हो। 

मनाङका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल जिल्लाका धेरै ठाउँमा बाक्लो हिमपात भइरहेको जानकारी दिनुहुन्छ । उहाँकाअनुसार कार्यालय परिसरमा समेत हिमपात भइरहेको छ । हिमपातका कारण हिमाली क्षेत्रमा हवाइ उडानसँग जनजीवन समेत प्रभावित छ ।

युरोपको प्रशान्त महासागरमा तातो बढेकाले पनि त्यहाँबाट आएको पश्चिमी वायुमा जलवाष्पका कण कम हुन गएको मौसमविद् इन्दिरा कँडेलले बताउनुभएको छ । उहाँका अनुसार जति वायु त्यताबाट आयो त्यो पनि हावाको दिशा परिवर्तन हुँदा सबै नेपालमा आउन सकेन । जसका कारण नेपालको मौसम अन्य वर्षभन्दा न्यानो बन्न पुग्यो । यसकै कारण हिउँदमा हुनुपर्ने जति वर्षा नभएको हो ।

यसवर्ष जाडो मौसममा राम्ररी पानी परेको छैन । यो फ्रेब्रुअरी महिनामा दैनिक औषतमा वर्षा १८ दशमलव ७ मिलीमिटर हुनुपर्ने थियो । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै ठाउँ तथा प्रदेश १ का केही ठाउँमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भूभागका धेरै ठाउँमा हिमपातको भइरहेको र यो क्रम राति पनि रहने छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बद्ली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बद्ली रहनेछ । प्रदेश १ का धरै ठाउँहरु तथा प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी र हिमाली भूभागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतम चिसो थप बढेकाले सावधानी अपनाउन आग्रह गर्नुहुन्छ । उहाँले जाडोबाट जोगिनका लागि आगो ताप्दा विशेष ख्याल गर्न अनुरोध गर्नु भएको छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया