नेपाललाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्छ : प्रधानमन्त्री ओली

 माघ २५, २०७७ आइतबार २०:१४:३९ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले वीर पुर्खाको ठूलो योगदान र बलिदानीबाट निर्माण भएको नेपाललाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् गोष्ठी समापनका अवसरमा उहाँले देशको मौलिक पहिचान विविधतामा एकता कामय गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एकीकरण एक दिनको मात्र काम होइन, यो अनवरत काम हो, हिजो एकीकरण लडाइँबाट गर्नुपरेको थियो, एकीकृत देशलाई लडाइँबाट बचाउनुपरेको थियो, आज एकीकृत देशलाई नेपालीको मेलमिलाप र एकताबाट बचाउनुपरेको छ ।’  

पहिचानका नाममा कतिपयबाट राजनीतिलाई अनुचित ढङ्गले उछाल्ने र भड्काउने काम भइरहेको बताउँदै उहाँले देश निर्माण र बचेको इतिहास स्वाभिमान बुझेर वीर पुर्खाको कदर गरिनुपर्छ भन्नुभयो । पहिचान, इतिहास, परम्परा र बहादुर पुर्खाले लडेर बचाएको नेपालको नक्साले गौरवपूर्ण इतिहास बोकेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपालको एकीकरणको अभियानमा योगदान पुर्‍याउने पुर्खाको वीरगाथालाई सम्मान छ, सलाम भन्न चाहन्छु । हाम्रा पूर्वजको योगदान र बलिदान आउँदो पुस्ताले नबिर्सियोस् ।’ 

देश बचाउने गढी र किल्लामा भएको बलिदान, बगेको रगत र भोगेको कष्टबाट आज हामीले नेपाल देश र नेपाली भन्न पाएको उल्लेख गर्दै उहाँले इतिहासको तथ्यपरक खोज अनुसन्धानलाई स्थापित गराउँदै आउँदो पुस्ताले त्यो कुरा नबिर्सियोस् भन्नाका लागि गौरवपूर्ण इतिहास बोकेका महान् पुर्खाको यथोचित सम्मान गर्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा महासेनानी प्रकाशबहादुर चन्दले नेपालको गौरवमय इतिहासको जगेर्ना गर्ने कार्यमा देशमा उपलब्ध स्रोत, साधन र सोचको अधिकतम प्रयोग गर्दै एकीकरण मार्ग कार्यक्रमसँग सम्बद्ध सबै पक्षको बुझाइमा एकरूपता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

स्थानीयस्तरसम्म सबैको हितमा हुने गरी सामूहिकरूपमा दीर्घकालसम्म उपयोगी कार्यक्रम निर्धारण गर्ने हेतुले सेनाले एकीकरण मार्ग कार्यक्रम गरेको जानकारी दिएको छ । सरकारले एकीकरण मार्गसम्बन्धी कार्यक्रमलाई दुई वर्षदेखि नीति तथा कार्यक्रममा समेटेको छ । 

नेपालको एकीकरणका समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र अरू अभियानकर्मीले प्रयोग गरेको मार्गलाई पर्यटन पदमार्गका रूपमा विकास गर्ने अवधारणाअनुरूप अहिले देशका १६ ठाउँमा पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सेनाले एकीकरणको इतिहासको संरक्षण गर्ने तथा भावी पुस्तालाई जानकारी दिलाउन ऐतिहासिक दस्तावेजको खोज अनुसन्धान भइरहेको जानकारी दिएको छ । पछिल्लो समय यस पदमार्ग संरक्षणमा उत्साहजनक सहभागिता जुटेको, आम नागरिकमा अपनत्व बढेको तथा एकीकृत कार्यक्रमसहित अघि बढ्न सुझाव प्राप्त भएको बताइएको छ । 

पछिल्ला वर्षमा सेनाले गोरखादेखि काठमाण्डौसम्म त्यस पदमार्गको १९६ दशमलव ८ किलोमिटरमा वार्षिकरूपमा एकीकरण पदयात्रा सञ्चालन गर्दै आएको छ । नेपालको एकीकरणसँग जोडिएका देशका एक सय ३२ वटा गढी तथा किल्ला रहेका छन् । सेनाले त्यस मार्गको संरक्षण, संवर्द्धन र प्रचारप्रसारमा समेत सहयोग पुगोस् भन्ने हेतुले इतिहास र संस्कृतिविद्, उच्च सैनिक अधिकृत, प्राध्यापक र पत्रकारसमेतको सहभागितामा तीन दिन गोष्ठी आयोजना गरेको हो ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया