भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
सप्तरी - गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय राजविराज सप्तरीले लामो समयसम्म भाडाबापतको रकम नबुझाउने उद्योगको समान जफत गरी असुली गर्ने प्रक्रिया शुरु गरेको छ ।
औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि सेड भाडामा लिए पनि लामो समयदेखि उद्योग सञ्चालन नगरेको र भाडाबापतको रकमसमेत नतिरेपछि कृष्णा खाद्य उद्योग र पदमा ज्योति प्लाष्टिक उद्योगको समान जफत गरी भाडाबापतको रकम असुल्ने प्रक्रिया सुरु गरेको हो ।
वर्षौदेखि उद्योगको नाममा सेड भाडामा लिएर उद्योग सञ्चालन नगरि कब्जामा राख्ने र भाडासमेत नबुझाउने प्रवृत्ति बढेपछि कारबाही गरी सेड खाली गराइएको तथा सामानसमेत लिलाम गर्ने प्रक्रियाअघि बढाइएको औद्योगिक क्षेत्रका प्रमुख दीपक आचार्यले जानकारी दिनुभयो ।
खाली गराइएका सेडमा नयाँ उद्योग सञ्चालनका लागि प्रक्रियासमेत सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, रुपनी गाउँपालिका–६ का वडाध्यक्ष जगदीश दास, घरेलु तथा साना उद्योग कार्यालयका नेत्र बाँस्तोला, सघन सहरी विकास आयोजना राजविराजका इञ्जिनियर ब्रह्मदेव चौधरी तथा सञ्चारकर्मीलगायतको टोलीको उपस्थितिमा बन्द उद्योगको ताला फुटाएर समान जफत गरिएको प्रमुख आचार्यले बताउनुभयो ।
कार्यालयका अनुसार ती उद्योगबाट करीब ४०/४५ लाख रुपैयाँ भाडाबापतको बक्यौता रकम उठाउन बाँकी छ । कृष्णा खाद्य उद्योगबाट करिब ११ लाख ७० हजार रुपैयाँ र पदमा ज्योति प्लाष्टिक उद्योगबाट आठ लाख ८० हजार रुपैयाँ भाडाबापतको रकम उठाउन बाँकी रहेको प्रमुख आचार्यले जानकारी दिनुभयो ।
भाडा नबुझाएका यी सबै उद्योग बन्द अवस्थामा रहेको र बक्यौता रकम बुझाउन पटक–पटक सूचना दिँदा समेत कुनै सुनुवाइ नभएपछि समान जफत गरी सेड खाली गराउन लागेको प्रमुख आचार्यको भनाइ छ ।
यसअघि गएकाे वर्ष पनि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले महालक्ष्मी खाद्य उद्योग र एसएण्ड इलेक्ट्रोनिक्सको समान जफत गरेको थियो । कुल २९४ रोपनी (साढे २२ बिघा) मा फैलिएको औद्योगिक क्षेत्रभित्र बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत् टेलिफोनलगायत सम्पूर्ण सुविधासम्पन्न १० घरेलु उद्योग सञ्चालन गर्न सक्ने क्षमता छ ।
त्यसमा अहिले मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कोशी पोलिमर्स र उषा जल उद्योग सञ्चालनमा छन् । यस औद्योगिक क्षेत्रमा नेपाल सरकारका तर्फबाट कार्यालय प्रमुखसहित १० जना कर्मचारीको दरबन्दी छ । भारत सरकारको सहयोगमा २०४४ सालमा शिलान्यास भएको त्यस औद्योगिक क्षेत्र निर्माण भएपश्चात २०५१ मा भारत सरकारले नेपाललाई हस्तान्तरण गरिसकेपछि त्यसमा नौ वटा उद्योग सञ्चालनमा आएका थिए ।
राजविराज औद्योगिक क्षेत्रका नामबाट २०४४ सालमा स्थापित यस औद्योगिक क्षेत्रलाई विकास गर्ने उद्देश्यले हृदयेश त्रिपाठी उद्योगमन्त्री भएका बेला गजेन्द्रनारायण सिंहको नामसँग जोडेर गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको नाममा नामकरण गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।