भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
बैतडी - दोगडकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाण्डाै पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी भागरथीकाे स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।
घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,'घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ।' डीएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’लगायतका नमुना सङ्कलन गरिएका हुन् । भागरथीको ‘भेजाइनल स्वाब’मा शङ्का लागेको व्यक्तिको शुक्रकिटसँग मिलेमा दोषी ठहर हुने प्रहरीले बताएको छ ।
स्वाब एक सहायक सामग्री भएकाले बलात्कार गर्ने व्यक्तिको डीएनए छुटेको भएमात्रै परीक्षणबाट थाहा हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो,'शव परीक्षण रिपोर्टले कसरी मृत्यु भयो भन्ने कुराको प्रमाणित गर्छ ।'
शवको परीक्षण कार्य जिल्ला अस्पतालमा शनिवार गरिएको भए पनि अझै सार्वजनिक गरिएको छैन । शव परीक्षण गरिएको भए पनि रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,'रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा छ, आज प्रहरीलाई बुझाउँछौँ ।'
शव परीक्षण रिपोर्ट आएपछि धेरै कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षण भएको तीन दिनसम्म पनि आफन्तले भने शव बुझ्न मानेका छैनन् । बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो,'वास्तविक हत्यारा पत्ता नलाग्दासम्म शव बुझ्ने कुरै हुँदैन', माघ २१ गते विद्यालय गएकी भागरथीकाे साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेकाे थियाे । भागरथी दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटमा रहेकाे सनातन धर्म माविमा अध्ययनरत रहेकी थिइन् ।
पाँच दिनसम्म पनि हत्यारा पत्ता लागेन
प्रहरीले घटनालाई गम्भीररुपमा लिएको बताए पनि घटना भएको पाँच दिनसम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन । घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । अनुसन्धान र अध्ययनका लागि हाम्रो माथिल्लो निकाय पनि परिचालन भएको छ उहाँले भन्नुभयो,'दोषीलाई पत्ता लगाउन हाम्रो सबै शक्ति लागिपरेको छ, छिट्टै पत्ता लाग्नेछ ।'
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।
प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सुक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसका साथै तालिम प्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पनि प्रहरीले ‘सर्च’ गरेको थियो । यस क्रममा किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकाले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ ।
किशोरीका आफन्त तथा स्थानीय बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेको छ । आइतवारदेखि तीन दिनका लागि शैक्षिक हड्ताल गरिएको सङ्घर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिनुभयो ।
सङ्घर्ष समितिले पहिलो चरणमा तीन दिन शैक्षिक हड्ताल गर्ने, माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र माघ २९ गते आम हड्ताल गर्ने घोषणा गरेको छ । यसअघि शुक्रवार र शनिवार पनि आफन्त र स्थानीय बासिन्दाले महाकाली राजमार्गमा चक्काजाम गर्नुका साथै प्रदर्शन गरेका थिए ।
भागरथीले न्याय पाउनुपर्ने र दोषीलाई पत्ता लगाउन मागसहित जिल्लामा रहेकाे राजनीतिक दल पनि एक ठाउँमा उभिएका छन् । जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि र्यालीसहित दोषीलाई यथाशीघ्र पक्राउको माग गर्दै नाराबाजीसमेत गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।