भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
हुम्ला - हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् ।
सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापरबाही गरेको भन्दै सिमकोट गाउँपालिका–६ का स्थानीय महिलाले विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गर्नुका साथै आन्दोलन गरेका हुन् ।
दिउँसो केही समय विद्युत् आपूर्ति भए पनि साँझ ४ बजेदेखि विद्युत् भार कटौती भएर राति १० बजेपछि मात्रै विद्युत् आउने हुँदा एसईई तयारी गरिरहेका विद्यार्थीसहित अन्य विद्यार्थीको पठनपाठनमा समस्या निम्त्याएको भन्दै वडा नं ६ का महिला आक्रोशित भएका हुन् ।
विद्युत् समयमै उपलब्ध नहुँदा विद्यार्थी र वृद्धवृद्धालाई बढी समस्या बनाएको त्यस वडाका महिला हंसकला रोकायाले बताउनुभयो । महिलाहरूले सोमवारसम्म विद्युत् कार्यालयले भनेको समयमा आपूर्ति नगरे विद्युत् लाइन कटौती गर्नुका साथै आफ्नो जग्गामा गाडिएका पोल त्यही कार्यालयमा निवेदन दिएर उखेलेर फ्याँक्ने चेतावनी दिएका छन् ।
लामो समयको लकडाउनपछि बल्लतल्ल विद्यालय जान पाएका विद्यार्थीलाई विद्युत् भार कटौतीको मारले विद्यालयमा शिक्षकले दिएको गृहकार्य गर्न बाधा पुगेको स्थानीयवासी उमाकला रावतले गुनासो गर्नुभयो । 'चाहिने समयमा विद्युत् आउँदैन नचाहिने समयमा दिनभरि आउँछ', रोकायाले भन्नुभयो । दिउँसोदेखि राति १२ बजेसम्म विद्युत् भार कटौती हुँदा समस्या बनाएको अर्का स्थानीयवासी सुन्तला रावतले बताउनुभयो।
नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको मुहानमा पानीको स्रोत कम भएपछि सेवाग्राहीले विद्युत् भार कटौतीको मार खेप्नुपरेको निमित्त कार्यालय प्रमुख राजकुमार बोहराले बताउनुभयो । यहाँका स्थानीयवासीको माग सम्बोधन गर्ने तर विद्युत् भार कटौतीको अन्त्य भने नहुने उहाँको भनाइ थियो ।
चर्को विद्युत् भार कटौतीले जेठमा एसईई तयारी गर्नका लागि सदरमुकाम सिमकोट आसपासका गाउँबाट सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।
हेल्दुङ वितरण केन्द्र हुम्लाले बर्सेनि विभिन्न बहानामा मर्मतका लागि भन्दै लाखौँ रकम खर्च गर्ने गरेको छ । यता सेवाग्राही पुरानै सल्लाको दियालो बालेर दैनिकी चलाउन बाध्य छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।