कांग्रेस महाधिवेशन जेठ मसान्त वा भदौ पहिलो हप्ता हुने

 फागुन ३, २०७७ सोमबार ७:४४:३७ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को संक्रमणका कारण प्रभावित भए पनि अझै महाधिवेशनको नयाँ मिति तोकेको छैन । पार्टीले गएकाे असार २२ गते केन्द्रीय महाधिवेशन  यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।

फागुन ५ गतेको बैठकमा पनि महाधिवेशनको नयाँ मिति भने नतोकिने बताइएको छ । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार पार्टीले महाधिवेशनको नयाँ मिति तोक्न सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको फैसला कुर्ने भएको छ । प्रतिनिधिसभा पुनःस्थापना भयो भने कांग्रेस महाधिवेशन आगामी जेठ मसान्तसम्म र पुनःस्थापना नभई निर्वाचनमा जानुपर्यो भने भदौ पहिलो हप्ता हुन सक्ने उहाँले बताउनुभयो ।

आगामी बैठकमा केन्द्रीय कार्यसमितिको समयावधि थप गरिने बताइएको छ । केन्द्रीय कार्यसमितिको समयावधि थप गर्दा कांग्रेस पार्टीको विधान अनुसार नभई नेपालको संविधानको सहारा लिनुपर्ने हुन्छ । बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने पार्टी कार्यालय स्रोतले जनाएको छ ।

कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने र असाधारण स्थितिमा बढीमा एक वर्षसम्मको अवधि बढाउन सकिने उल्लेख छ । कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौंमा भएको थियो ।  कांग्रेसको विधानानुसार पार्टीको आगामी १४औं महाधिवेशन यही फागुन २० गतेसम्म उद्घाटन गरिसक्नुपर्छ ।

कांग्रेसले कोभिड–१९ को विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर केन्द्रीय समितिको समयावधि थप गर्ने र महाधिवेशनको मिति सार्ने जनाएको छ । नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । साथै विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्र पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भनी उल्लेख छ ।

हालको महाधिवेशन कार्यतालिकानुसार गाउँ र नगर वडा अधिवेशन गत पुस ६ गते, गाउँ–नगरपालिका अधिवेशन पुस ८ गते र  प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते गरिसक्नुपर्ने थियो । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि) पुस १३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन गत माघ ६ गते र केन्द्रीय महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्नुपर्ने हालको कार्यतालिका छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया