सिङ्गो गाउँकै पुर्जा अरुको नाममा

 चैत ८, २०७७ आइतबार ११:२४:३० | रासस
unn.prixa.net

नवलपरासी - नवलपुरको कावासोती नगरपालिका-४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् ।

हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कुलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन् । लामो समयदेखि बसोबास गरेको जमिन भूमाफियाले आफ्नो नाममा पुर्जा बनाउँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् ।

यहाँको  ७० बिघा जग्गाको करिब २५ जनाले आफ्नो नाममा पुर्जा निकालेका छन् । पुर्जा निकाल्नेहरु काठमाण्डाै, धादिङ, पोखरा, वीरगञ्जलगायतका व्यक्ति भएको जनाइएको छ । २०३१ सालदेखि बसोबास गर्दै आएको भए पनि आफू बसोबास गरेको जमिनको पुर्जा भने अरुकै नाममा रहेको स्थानीयवासीको भनाइ छ ।

२०३१ सालदेखि बसोबास गरेको बताउने मायाराम थारूको जग्गाको समेत भूमाफियाले आफ्नो नाममा पुर्जा निकालेका छन् ।'यहाँ केही थिएन म लगायत केही व्यक्तिले झाडी फाँडेर बस्यौँ, त्यो बेला वनको क्षेत्र भनेर मलाई त समातेर भैरहवा जेलमा समेत थुनियो', मायारामले भन्नुभयो,'पछि धरौटीमा छाड्यो, तर आफैँले भोग गरेको जमिनको भने भूमाफियाले पुर्जा निकाले ।' आफैँले भोग गरेको जग्गासमेत भूमाफियाले गाउँमै नआइ पुर्जा बनाएको उहाँ बताउनुहुन्छ ।

२०३१ सालदेखि बसोबास गरेको भए पनि २०५५ सालमा भने आफ्नो जग्गा भूमाफियाले पुर्जा बनाएर कब्जा गरेको थारूको भनाइ छ । उहाँजस्तै यहाँका धेरै घरपरिवारको बसोबास रहेकाले जग्गाको पुर्जा अर्कैको नाममा छ । २०५४ सालमा फिल्डबुक कायम गरी २०५५ सालमा मालपोत कार्यालयले पुर्जा वितरण गरेको थियो ।

त्यस समयमा विभिन्न ठाउँका करिब २०/२५ जनाले आफ्नो नाममा पुर्जा बनाए । अहिले पनि यहाँ बसोबास गर्नेहरुको जग्गाको पुर्जा अर्कैको नाममा रहेको स्थानीयवासी गोपी शर्माले बताउनुुभयो । पुर्जा गलत रूपमा निकालेको भनेर त्यस समयमा तत्कालीन गाविस कार्यालय, मालपोत घेर्ने काम गरेपछि मालपोत कार्यालयले पुर्जा बदरको काम अगाडि बढाएको थियो । तर मालपोत कार्यालय आफैँले जारी गरेको पुर्जा पुनः सच्याउन नमिल्ने भनी अदालतले आदेश दिएपछि बसोबास गरेका व्यक्तिभन्दा अरुकै नाममा पुर्जा कायम भएको हो । शिवमन्दिर क, ख र ग को नक्सामा जोतभोग गर्नेभन्दा फरक व्यक्तिको नाममा पुर्जा रहेको उहाँको भनाइ छ ।

त्यही समयमा यहाँका केही स्थानीयवासीले समेत पुर्जा बनाएका थिए तर आफू बसोबास गरेको भन्दा फरक ठाउँको पुर्जा बनेपछि यसले समेत समस्या निम्त्याएको कावासोती-४ का वडाध्यक्ष रमाकान्त चापागाईँले बताउनुभयो । करिब ३०० घरधुरीले जोतभोग गरेको जग्गाभन्दा फरक ठाउँको कित्ताकाट भएको छ ।

यसले अर्को समस्या निम्त्याएको उहाँको भनाइ छ ।  करिब ८० घरपरिवारले आफू बसेको भन्दा केही फरक भए पनि पुर्जा निकालेका छन् तर ३०० घरपरिवार भने आफू बसेको ठाउँभन्दा फरक ठाउँमा कित्ताकाट भएपछि पुर्जाविहीन बनेका छन् ।

तत्कालीन समयमा केन्द्रको नापीले छ महिना यहाँ आएर ‘बाउन्ड्री’को काम गरेको थियो तर पछि फिल्डमा नआइ कित्ताकाट गरेकाले  यस्तो समस्या आएको वडाध्यक्ष चापागाईँले बताउनुभयो । त्यही समयमा फिल्डमा नआई केही भूमाफियाले यस क्षेत्रको जग्गाको पुर्जा आफ्नो नाममा निकालेका थिए ।

पुर्जा निकाल्ने धेरै मानिस कहाँका हुन् भन्नेसमेत यकिन नभएको वडाध्यक्ष चापागाईँले बताउनुभयो । यहाँका स्थानीयवासीले भने फिल्डबुक सच्याउनुपर्ने माग गरेका छन् । जोतभोग गरेको आधारमा पुनः नापी गरेर पुर्जा दिनुपर्ने माग स्थानीयवासीको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया