एसियाली खेलकुदः शुक्रबार नेपालको समग्र प्रदर्शन यस्तो रह्यो

 भदौ ८, २०७५ शुक्रबार १९:२२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डोनेसियामा जारी एसियाली खेलकुद अन्तर्गत शुक्रबार पनि नेपालको खराब प्रदर्शन जारी रह्यो ।

आर्चरी, ब्याडमिन्टन, थ्री बाई थ्री बास्केटबल, फेन्सिङ, गल्फ, भलिबल, स्पोर्टस क्लाइम्बिङ, पौडी र भलिबलमा सहभागिता जनाएको थियो ।तर कुनै खेलमा पनि नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

 आर्चरी 

महिला व्यक्तिगत रिकर्भमा नेपाली खेलाडी ज्ञानु अवाले अन्तिम ३२ चरणबाटै बाहिरिएकी छिन् । र्‍याङ्किङ्मा ५९६ अंक जोड्दै ५५औं स्थानमा रहेकी ज्ञानु दोस्रो चरणमा हङ्कङ्की चिङ आदा लाम शुकसँग ६–२ ले पराजित भइन् ।

हङ्कङ्की खेलाडीले पहिलो दोस्रो र चौथो सेटमा समान २–० को अग्रता लिएकी थिइन् । तेस्रो सेटमा ज्ञानुले २–० को अग्रता लिएकी थिइन् । पुरुष रिकर्भ टिम इभेन्टमा नेपाल १९ टिम सहभागी भएकोमा १४औं भएको छ । अशिम शेरचन, मिनप्रसाद गौचन, रोशन नगरकोटी र तिलक पुन मगर सहभागी नेपाली टिमले १८८६ अंक जोडेको थियो ।

यो विधाको प्रि–क्वार्टर फाइनलमा नेपालले भोली कतारको सामना गर्नेछ ।

ब्याडमिन्टन 

ब्याडमिन्टनतर्फ पुरुष सिंगल्समा रत्नजीत तामाङ बाहिरिएका छन् । अन्तिम ३२ को चरणमा रत्नजीत दक्षिण कोरिया वान्हो सनसँग २–० कै सोझो सेटमा पराजित भए ।

उनी २१–८ र २१–११ ले पराजित भएका थिए । अर्का खेलाडी विकास श्रेष्ठ पनि जापानका खेलाडी केन्तो मोमोतासँग २–० को सोझै सेटमा पराजित भए । उनी २१–९ र २१–१० को पराजय भोग्दै बाहिरिए ।

महिला डबल्समा पनि नेपाली खेलाडीको जोडी बाहिरिएको छ । प्रिक्वार्टर फाइनलमा अमिता गिरी र रसिला मगरको जोडी दक्षिण कोरियाका हेरिन किम र ह्योङ कोङ्को जोडीसँग २१–७ र २१–१ को लज्जास्पद हार ब्यहोर्न पुग्यो । 

थ्री बाई थ्री बास्केटबल 

पुरुषको थ्री बाई थ्री बास्केटबलमा पनि नेपालको प्रदर्शन खराब रह्यो । नेपाल सिरियासँग २१–१९ को झिनो अन्तरको हार ब्यहोरेको नेपाल जोडर्नसँग भने २१–१० को फराकिलो अन्तरले पराजित भयो । 

फेन्सिङ 

फेन्सिङतर्फ पुरुषको फोइल टिम इभेन्टमा नेपाल फिलिपिन्ससँग ४५–३ को भारी अन्तरले पराजित हुँदै प्रि–क्वार्टर फाइनलबाटै बाहिरियो । नेपाली टिममा राजन राज खड्का, महेश प्रसाद भट्ट, संजिप लामा र शेरसिंह ऐरी सहभागि थिए । 

गल्फ 

गल्फतर्फ नेपाली खेलाडीको प्रदर्शन निकै खराब रह्यो । दोस्रो चरणको समाप्ति सम्ममा शुक्रबहादुर राई १३ ओभर १५७ स्कोर गर्दै ५५ औं स्थानमा छन् । अघिल्लो दिन नौ ओभर ८१ स्कोर गरेका शुक्रले दोस्रो चरणमा चार ओभर चार ओभर ७६ को कार्ड बनाए ।

दोस्रो चरणको समाप्ति सम्ममा १६ ओभर १६० सहित ६२औं स्थानमा छन् भने अर्का नेपाली खेलाडी अजित विश्वकर्मा १९ ओभर १६३ को कार्ड बनाउँदै ७४औं स्थानमा छन् । अझ खराब प्रदर्शन गर्दै पृथ्वी मल्ल २४ ओभर १६८ सहित ७८औं स्थानमा छन् ।

 स्पोर्टस् क्लाइम्बिङ 

स्पोर्टस् क्लाइम्बिङ अन्तर्गत २३ खेलाडी सहभागि बोल्डरिङको छनोट चरणमा नेपाली खेलाडीहरु पुछारबाट दोस्रो र तेस्रो भए । 

पौडी 

पौडीतर्फ नेपालको प्रदर्शन सन्तोषजनक रहेन । चार खेलाडी सहभागी भएकोमा कुनै पनि खेलाडीले हिट चरण पार गर्न सकेनन् ।

सागकी पदक विजेता गौरिका सिंहले शुक्रबार ५० मिटर फ्रिस्टाइलको हिट थ्रीमा सातौं स्थानमा रहिन् । उनले २८।५० सेकेण्डको टाइमिङ निकालेकी थिइन् । सोही हिटमा रहेकी अर्की नेपाली खेलाडी टिशा शाक्य २९।६१ सेकेण्डको टाइमिङ मार्क गरी आठौं स्थानमा आइन् ।

यसैगरी पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा नेपालका शुभम श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए । हिट टू मा रहेका उनी आठ खेलाडीमध्ये सातौं स्थानमा रहे । उनले ३२।४५ सेकेण्डको टाइमिङ निकालेका थिए । एशियाली खेलकुदमा दुई पुरुष र दुई महिला खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

पुरुषतर्फ शिरिषले ५० मिटर र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए भने शुभम श्रेष्ठले ५० र १०० मिटर ब्रेष्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै महिलातर्फ गौरिका सिंहले ५०, १०० र २०० मिटर फ्रिस्टाइलमा र टिशाले ५० र १०० मिटर फ्रिस्टाइल तथा ५० मिटर ब्रेष्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका थिए ।

पौडीमा यसपटक कुनै पनि राष्ट्रिय कीर्तिमान बन्न सकेन । नेपाल पौडी संघले कीर्तिमान बनाउनेलाई १० हजार प्रोत्साहन पुरस्कारको घोषणासमेत गरेको थियो ।

भलिबल 

भलिबल तर्फ नेपाल लगातार दोस्रो हार ब्यहोर्दै प्रतियोगिता बाहिरिएको छ । अघिल्लो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको नेपाल आज दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ को सोझो सेटमा पराजित भयो ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया