साउनपछि अवैध मोबाइल सेट नचल्ने

 असार २३, २०७८ बुधबार १६:११:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू गर्न प्राविधिक काम भइरहेको बताएको छ । बुधवारकाे कुराकानीमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्बाध चल्न दिने गरी काम भइरहेको बताउनुभयो । साउन महिनाभरि मोबाइल प्रयोगकर्ताले आईएमईआई नम्बर दर्ता गराउन समय दिने तयारी गरेको बताउनुभयो ।

प्राधिकरणका अध्यक्ष खनालले कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट आएको मोबाइल नचलाउन आग्रह गर्नुभयो । अहिले मिडियामा आए जस्तो:- विभिन्न सामाजिक सञ्जालमा भेटिएको गलत सूचनामा विश्वास नगर्न प्राधिकरणका अध्यक्ष खनालले सचेत गराउनुभयो । साउन महिनापछि भने आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेटले काम नगर्न सक्ने भएकाले दर्ता गर्न उहाँले अनुरोध गर्नुभयो ।

आउँदाे साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू हुने भएकाले अवैध रूपमा भित्रिएका मोबाइल सेट नचल्ने हुन सक्छ । नेपाल सरकारले आउँदाे वर्षको बजेट सार्वजनिक गर्दा एमडीएमएस लागू गर्ने घोषणा गरेको छ  । एमडीएमएस लागू भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट चल्न सक्दैनन् । मोबाइल व्यवसायीले एमडीएमएस लागू भएपछि नेपालमा अवैध मोबाइल नै नरहने बताएका छन् ।

मोबाइल फोन आयातकर्ता सङ्घका अध्यक्षसमेत रहनुभएका नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपककुमार मल्होत्राले एमडीएमएस प्रणाली लागू भएपछि मोबाइल कारोबार पारदर्शी हुने बताउनुभयो । झन्डै ४० अर्बको मोबाइल कारोबारमा १३ अर्बको कारोबार अवैध हुने बताइन्छ । एमडीएमएस प्रणालीले सबै कारोबारलाई वैध मार्गमा लैजाने उहाँले बताउनुभयो । यसले राज्यको करको दायरा बढ्ने, चोरी आयात रोकिने र ग्राहक ठगिने क्रम रोकिने अध्यक्ष मल्होत्राले बताउनुभयो ।

यस्तै एमडीएमएसमा दर्ता भएका फोनको विवरण तुरुन्त थाहा पाउन सकिने भएकाले मोबाइलको दुरुपयोग गरी हुने अपराध र अपराधी पत्ता लगाउन सजिलो हुने उपाध्यक्ष मल्होत्राले बताउनुभयो ।

एमडीएमएस प्रणाली पहिलो पटक लागू हुने भएकाले चलिरहेको मोबाइल र विदेशबाट उपहार अनि पर्यटकले बोकेर आउने मोबाइल कसरी चल्न दिने भन्नेबारे मोबाइल फोन आयातकर्ता सङ्घसँग दूरसञ्चार प्राधिकरणले छलफल गरिरहेको छ । छलफलका क्रममा चलिरहेको फोनलाई निश्चित समय दिएर आईएमईआई नम्बर दर्ता गर्न लगाउने सुझाव आफूहरुले दिएको अध्यक्ष मल्होत्राले बताउनुभयो ।

यस्तै पर्यटकले नेपाल घुम्न आउँदा बोकेर आउने फोनलाई १५ दिनसम्म चल्न दिने र फेरि सुरु गर्नुपरे भिसा पासपोर्टको विवरण राखेर गर्न सकिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणलाई सङ्घले सुझाव दिएको छ ।

यसै गरी उपहारमा आएको फोनलाई दर्ता गर्नुअघि भन्सारको प्रक्रिया पूरा गरेर मात्रै चल्न दिने व्यवस्था मिलाउन सुझाव दिएको अध्यक्ष मल्होत्राले बताउनुभयो । उपहार आएको फोन पहिलो १५ दिन चलाउन कुनै बाधा नगर्न पनि सुझाव दिएको उहाँले बताउनुभयो । 

एमडीएमएस लागू भएपछि मोबाइल फोन आयातकर्ताले आयात गरेको सम्पूर्ण मोबाइल फोनको आईएमईआई नम्बर दूरसञ्चार प्राधिकरणमा दर्ता गरेर मात्र बिक्री/वितरण गर्नेछन् ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Niraj Bhattarai

    July 8, 2021, 3:21 a.m.

    उपहारमा पनि कर तिर्नुपर्छ भन्नु कत्तिको जायज छ ?लुटेराले केही बाँकी नराख्ने भयो /

  •  0 Reply
  • Nabin Bohara

    July 7, 2021, 4:24 p.m.

    यो गर्नू त ठिकै हो तर यस्ता मोबायल फोन बजारमा थोक विक्री गर्ने व्यापारीले पनि बेची रहदा सर्व साधारण प्रयाेग कर्ता लाई कसरी जानकारी गराउने।

  •  0 Reply

तपाईको प्रतिक्रिया